सिटौलाको ‘समर्थन’ मा पार्टी मुख्यालयमा विरोधपत्र दर्ता गराउँदै पौडेल समूह-Sutra News

सिटौलाको ‘समर्थन’ मा पार्टी मुख्यालयमा विरोधपत्र दर्ता गराउँदै पौडेल समूह

सोमबार, १२ असोज २०७७

सोमबार, १२ असोज २०७७

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी मुख्यालय सानेपामा आइतबार दर्ता गर्ने भनिएको विरोधपत्र आज सोमबार दर्ता गर्ने भएको छ। केन्द्रीय सदस्य गुरुराज घिमिरेले दिएको जानकारी अनुसार दिनको १ बजे विरोधपत्र दर्ता गर्ने तयारी छ।



पौडेल समूहले सभापति शेरबहादुर देउवाले महाधिवेशनलाई प्रभावित पार्न विधानविपरीतका निर्णय गरेको भन्दै तिनलाई सच्याउन माग राखेर विरोधपत्र दर्ता गर्न लागेको हो।

सोमबार महामन्त्री शशांक कोइरालाले विरोधपत्रको अध्ययन गर्ने भनेपछि दर्ता नगरिएको केन्द्रीय सदस्य घिमिरे बताउँछन्। सोमबार बिहान सूत्रन्युजसँग कुरा गर्दै घिमिरेले भने, ‘आइतबारै विरोधपत्र दर्ता गर्ने तयारी गरेका थियौं, तर, महामन्त्रीले पत्र अध्ययन गर्ने कुरा गर्नुभयो। आज दिउँसो १ बजेभित्रमा दर्ता गर्छौं।’

सिटौलाको मौन समर्थन

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासमेतको समर्थनमा विरोधपत्र दर्ता गर्ने प्रयास आइतबार नेताहरूले गरेका थिए। तर, सिटौलाले पत्रमा हस्ताक्षर गर्न भने मानेनन्। तर, सिटौको मौन समर्थन भने रहेको बताउँछन् केन्द्रीय सदस्य घिमिरे। ‘उहाँहरूले पनि गुटको अस्तित्व देखाउन खोज्नुभएको होला। तर, सभापतिजीको निर्णयप्रति उहाँहरूको पनि असहमति छ। विरोत्रपत्रमा हस्ताक्षर गर्न भने मान्नुभएन। हस्ताक्षर नगरे पनि समर्थन छ भन्नुभएको छ,’ घिमिरेले सूत्रन्युजसँग भने।

त्यसैगरी केन्द्रीय सदस्य जीवन परियार मुद्दाका विषयमा एकै ठाउँमा भएकाले मिलेरै जानुपर्छ भन्नेमा आफूहरूले जोड गरेको बताउँछन्। सिटौला समूहसँग सोहीअनुसार छलफल भएपनि हस्ताक्षर नभएको थप स्पष्ट पारे।

२७ जनाको हस्ताक्षर

सिटौला समूह नभए पदाधिकारी र सदस्यहरू गरी २७ जनाको हस्ताक्षरमा विरोधपत्र दर्ता हुन लागेको हो।

विरोधपत्रमा महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहित पौडेल समूहमा रहेका २७ जनाको हस्ताक्षर भइसकेको छ। पौडेल समूहले विरोध पत्रमा नेतृत्वको कमजोरीदेखि विधानविपरीत गरेको निर्णयको घटनाक्रमसम्म समावेश गरेको छ।

विरोधपत्रमा के छ? 

विधानविपरीत गठन भएका केन्द्रीय विभागको खारेजी र क्रियाशील सदस्यतासम्बन्धी निर्णयहरू खारेज हुनुपर्ने माग विरोधपत्रमा उल्लेख गरिएको छ। पत्रमा भनिएको छ, ‘महाधिवेशनको पूर्वसन्ध्यामा संगठनमा एकता र विश्वासको वातावरण अभिवृद्धि गर्दै धारिलो र शक्तिशाली सांगठनिक अभियानका माध्यमबाट सरकारका गलत क्रियाकलापप्रति खबरदारी गर्ने तथा संगठनको आन्तरिक जीवनलाई सुदृढ बनाउनुपर्ने हो।’

अविश्वास,अनेकता र आशंकाको बादल मडारिएर संस्थापन र इतरपक्षका नाममा ध्रुवीकरण निम्तिनुका साथै पार्टी, लोकतान्त्रिक प्रणाली र राष्ट्रप्रतिको जिम्मेदारी छायामा पर्ने काम भइरहेको पनि पत्रमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट