उपचार गर्दागर्दै भारतमा बितिन् आमा, कान्छी ल्याएपछि भागेका बाबु खोज्दै जुम्ला पुगे चार बालबालिका-Sutra News

उपचार गर्दागर्दै भारतमा बितिन् आमा, कान्छी ल्याएपछि भागेका बाबु खोज्दै जुम्ला पुगे चार बालबालिका

सोमबार, १२ असोज २०७७

सोमबार, १२ असोज २०७७

काठमाडौं- भारतको पञ्जाबमा नोकरी गर्दै आएका बेपत्ता बाबुको खोजी गर्दै चार जना बालबालिका जुम्ला पुगेका छन्। तीन वर्षदेखि बेपत्ता बाबु सन्तोष बिकको खोजी गर्दै कैलाली स्थायी ठेगाना बताउने १७ वर्षीया मधु विक, १६ वर्षीया गीता विक, नौ वर्षीय नवीन विक र तीन वर्षीय आशीष विक जुम्ला सदरमुकाम खलङ्गा पुगेका हुन्।



उनीहरुले आफूहरु चारै जना भारतको पञ्जाबमा जन्मिएको बताएका छन्। ‘नेपालमा घर कैलाली जिल्लामा छ भन्ने सुनेका थियौँ तर कुन ठाउँ, कुन टोल हो, केही थाहा छैन’ मधुले भनिन्, ‘सानो भाइ एक महिना हुँदै आमा सपना विकको उपचारका क्रममा अस्पतालमै निधन भयो। आमाको निधनपछि बाबुले अर्की आमा ल्याएर भागे।’

आमाले अर्कै बिहे गरेपछि चारै भाइबहिनी पञ्जाबमा विचल्लीमा परे। त्यसमध्ये सबैभन्दा सानो भाइ आशीष अहिले तीन वर्ष पुगेको छ। ‘बाबाले पनि छाडेको पनि तीन वर्ष नै पुग्यो’ मधुले रुन्चे स्वरमा आफ्ना वेदना पोखिन् ‘भारतमा मजदुरी गरेरै हुर्काएको एक महिनाको भाइ अहिले तीन वर्ष पुगेको छ।’

जब भारतमा कोरोना फैलियो, त्यसपछि उनीहरुले मजदुरी गर्ने ठाउँ पनि पाएनन्। सबै नेपालीहरु नेपाल फर्कन थालेपछि हामी पनि कैलाली आइपुगे। ‘कैलालीमा पनि घरजग्गा बाबाले बेचेको थाहा भयो’ उनले भनिन्, ‘त्यसपछि नेपालगञ्ज, सुर्खेत हुँदै जुम्ला आएका हौँ।’

उनीहरु बाबु खोज्दै जुम्ला पुगेको पनि अहिले १२ दिन पुग्यो । बेपत्ता बाबु खोज्ने क्रममा भौँतारिँदै जुम्लासम्म आइपुगेको उनले बताइन्। जुम्ला पुगेको दुईचार दिनपछि चन्दननाथ नगरपालिका–७ महतगाउँस्थित जनता माध्यमिक विद्यालय भवन निर्माणमा मजदुरको खाना पकाउने काम गरेबापतको दिनको ५०० रुपैयाँले बिहान–बेलुकाको छाक टार्दै आएको पनि मधुले सुनाइन्।

बालबालिका बिचल्लीमा परेको थाहा पाएपछि समाजसेवी छिरिङ ल्यामु तामाङले जिल्ला प्रशासन कार्यालय जुम्लामा खबर गरेका थिए। जिल्ला प्रशासनले जिल्ला प्रहरीमा जानकारी गराएपछि बालबालिकाको उद्धार भएको हो। प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार बालबालिका अलपत्र परेको जानकारी प्राप्त भएपछि उद्धार गरिएको हो।

बेपत्ता बाबु खोज्दै जुम्ला आइपुगेका बालबालिकाबारे विस्तृत अध्ययन भइरहेको जानकारी काफ्लेले दिए। प्रहरीले उद्धार गरेपछि अल्पकालीन महिला तथा बालबालिका सेवा केन्द्रमा राखिएको छ।

‘बालबालिकाले अझै आफ्नो स्थानीय ठेगाना र अभिभावकको नाम बताउन सकेका छैनन्’ प्रहरी नायब उपरीक्षक काफ्ले भन्छन्, ‘यस विषयमा प्रहरी संयन्त्रमार्फत कैलालीमा पनि खोजी गर्छौँ । बालबालिकालाई मेडिकल परीक्षणसहित सेवा केन्द्रमा राखिएको छ।’

अल्पकालीन सेवा केन्द्रकी अध्यक्ष भगवती श्रेष्ठका अनुसार अस्थायीरूपमा सेवा केन्द्रमा राखिए पनि दुई बालिका १६ र १७ वर्षका भएकाले दुर्व्यवहारमा पर्न सक्ने देखिएर सुरक्षित राखिएको हो। ‘यस्ता बालबालिकाको अभिभावक भनेको राज्य नै हो’ उनले भनिन्, ‘त्यसका लागि प्रशासनसँग कुरा चलाएका छौँ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट