विधानविपरीतका निर्णय सच्याउन माग राख्दै पौडेल समूहले गरायो विरोधपत्र दर्ता-Sutra News

विधानविपरीतका निर्णय सच्याउन माग राख्दै पौडेल समूहले गरायो विरोधपत्र दर्ता

सोमबार, १२ असोज २०७७

सोमबार, १२ असोज २०७७

काठमाडौं– नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी मुख्यालय सानेपामा विरोधपत्र दर्ता गराएको छ। सो समूहले पार्टी सोमबार १:४० मा पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलमार्फत् विरोधपत्र दर्ता गराएको हो।



सभापति शेरबहादुर देउवाले महाधिवेशनलाई प्रभावित पार्न विधानविपरीतका निर्णय गरेको भन्दै तिनलाई सच्याउन माग राखेर पौडेल समूहका नेताहरू जीवन परियार, धनराज गुरुङ, चन्द्र भण्डारी, नवीन्द्रराज जोशी र दिपक गिरीको नेतृत्वले विरोधपत्र दर्ता गराएका हुन्। 

आइतबार महामन्त्री शशांक कोइरालाले विरोधपत्रको अध्ययन गर्ने भनेपछि दर्ता रोकिएको थियो। सोमबार बिहान सूत्रन्युजसँग कुरा गर्दै केन्द्रीय सदस्य जीवन घिमिरेले भने, ‘आइतबारै विरोधपत्र दर्ता गर्ने तयारी गरेका थियौं, तर, महामन्त्रीले पत्र अध्ययन गर्ने कुरा गर्नुभयो। सोही कारण आज दर्ता गरेका हौं।’

विरोधपत्रमा महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहित पौडेल समूहमा रहेका २७ जनाले हस्ताक्षर गरेका छन्। पौडेल समूहले विरोध पत्रमा नेतृत्वको कमजोरीदेखि विधानविपरीत गरेको निर्णयको घटनाक्रमसम्म समावेश गरेको छ।

विधानविपरीत गठन भएका केन्द्रीय विभागको खारेजी र क्रियाशील सदस्यतासम्बन्धी निर्णयहरू खारेज हुनुपर्ने माग विरोधपत्रमा उल्लेख गरिएको छ। पत्रमा भनिएको छ, ‘महाधिवेशनको पूर्वसन्ध्यामा संगठनमा एकता र विश्वासको वातावरण अभिवृद्धि गर्दै धारिलो र शक्तिशाली सांगठनिक अभियानका माध्यमबाट सरकारका गलत क्रियाकलापप्रति खबरदारी गर्ने तथा संगठनको आन्तरिक जीवनलाई सुदृढ बनाउनुपर्ने हो।’

अविश्वास,अनेकता र आशंकाको बादल मडारिएर संस्थापन र इतरपक्षका नाममा ध्रुवीकरण निम्तिनुका साथै पार्टी, लोकतान्त्रिक प्रणाली र राष्ट्रप्रतिको जिम्मेदारी छायामा पर्ने काम भइरहेको पनि पत्रमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट