ओली-प्रचण्डको चौथो दिनको बैठक पनि निष्कर्षविहीन-Sutra News

ओली-प्रचण्डको चौथो दिनको बैठक पनि निष्कर्षविहीन

सोमबार, १२ असोज २०७७

सोमबार, १२ असोज २०७७

काठमाडौं- मन्त्रिपरिषद् हेरफेरसम्बन्धी छलफलमा चार दिनदेखि जुटेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको आजको बैठक पनि निष्कर्षविहीन भएको छ।



सोमबार बिहान साढे एघार बजेदेखि बालुवाटारमा ओली र प्रचण्डबीच भएको छलफल केही बेरअघि सकिएको हो। ‘बैठक केही बेरअघि सकिएको छ,’ प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने, ‘विषयबस्तुमै कुरा मिल्न सकेको छैन।’ भोलि पनि छलफलमा बस्ने या नबस्नेबारे अहिले आज केही जानकारी नदिइएको उनले बताए।

ओली र प्रचण्डबीच बिहीबार, शुक्रबार र आइतबार पनि यही विषयमा केन्द्रित भएर छलफल चलेको थियो।

६ असोजमा सकिएको नेकपा सचिवालय बैठकले मन्त्रिपरिषद् हेरफेर र संवैधानिक निकायमा पदपूर्ति गर्ने मुख्य जिम्मेवारी प्रधामन्त्री ओलीलाई दिएको थियो। त्यसअघि ५ असोजमा बसेको नेकपा सचिवालय बैठकले मन्त्रिपरिषद् हेरफेरलाई औपचारिक एजेन्डा बनाउँदै त्यसका लागि तीन मापदण्ड निर्धारण गरेको थियो।

ती मापदण्डमा अलि ठूलो मात्रामा मन्त्रिपरिषद् पुनर्गठन गर्ने, नयाँ पुराना सबैलाई समेटेर पुनर्गठन गर्ने र पुनर्गठन गर्दा क्षेत्रीय, जातीय, सामाजिक र लैंगिक सन्तुलनलाई मिलाएर गर्ने थिए। तीनै मापदण्डामा केन्द्रित भएर दुई दिनदेखि ओली र प्रचण्डबीच छलफल जारी छ। तर, दुई नेताबीच यस विषयलाई लिएर सामान्य मतभेद पनि छ।

ओली राम्रो ‘पर्फमेन्स’ नभएका केही मन्त्रीहरुलाई हटाएर तीनको ठाउँमा नयाँ मन्त्री बनाउने र रिक्त मन्त्रालयमा मन्त्री थपेर मन्त्रिमण्डललाई पूर्णता दिने योजनामा छन्। तर, प्रचण्ड भने मन्त्रिमण्डलको पूरै सेट परिवर्तन गर्ने पक्षमा छन्।

नेकपाका एकजना स्थायी कमिटी सदस्यका अनुसार मुख्यगरी संघीय मन्त्री मण्डलमा तीन समूहमध्यबाट को कसलाई मन्त्री बनाउने भन्ने विषयमा कुरा नमिल्दा छलफल लम्बिएको छ। त्यस्तै प्रदेश नम्बर १, बागमती प्रदेश र प्रदेश नम्बर ५ का मुख्य मन्त्रीका बिषयमा पनि कुरा मिल्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट