बर्दिया- बाघ आक्रमणमा परेर आँखा गुमाउँदा संसारै अध्यारो भएको पीडा त हुन्छ नै, त्यो भन्दा बढी आफूलाई आक्रमण गर्ने बाघप्रति आक्रोस सबैमा उठ्ने गर्छ । तर, बाघको आक्रमणमा परेर महिनौँ दिन अस्पतालमा छट्पटाउँदा पनि त्यही आक्रमणकारीलाई बचाएर राख्ने सोचका मानिस कमै हुन्छन् ।
मधुवन नगरपालिका खाता गाउँका भदै थारू चाहिँ यस मामिलामा अरु भन्दा फरक छन् । बाघको आक्रमणमा परी बाँच्ने र मर्ने दोसाँधमा पुगेका बेला उनमा त्यो बाघप्रति प्रतिशोध छैन, बरु उनी बाघको संरक्षण गर्ने अभियानमा छन् ।
थारूको यही अचम्मको व्यवहारबाट हलिउड स्टार लियोनार्दो डिक्याप्रियो प्रभावित बने । मधुवनमै पुगेर हलिउड स्टार लियोनार्दोले भदैलाई अँगालोमा बेरे, फोटो पनि खिर्चाए ।
लियोनार्दोले त्यतिबेला बर्दिया राष्ट्रिय निकुञ्जमा चार दिन बिताएका थिए । उनले सामुदायिक वनका पदाधिकारी र स्थानीय प्रतिनिधिसँग पनि भेटेका थिए । र, भदैलाई सम्झनास्वरुप चस्मा उपहार दिएका थिए ।
भदै सात वर्षदेखि त्यही चस्मा लगाएर भदै हिँड्ने गर्छन् । डिक्याप्रियोले उपहार दिएको चस्माले बाघ संरक्षणमा भदैलाई हौसलाका साथै उत्साह मिलेको छ ।
त्यो दिन
भदै थारू २०६० पुस २२ गते आफू अध्यक्ष रहेको गौरी सामुदायिक वन रेखदेखका लागि पुगेका थिए । सामुदायिक वनमा खरखडाइ खुलेको थियो । खरखडाइका क्रममा कसैले वन्यजन्तु मारिदेला भनेर रोक्न जङ्गल गएको थिए उनी ।
उनी बन्यजन्तुमाथि कसैले आक्रमण नगरुन् भनेर जंगल गएका थिए । तर, बज्रपात चाहिँ उनी माथि नै पर्यो । बाघसँग उनको आँखा जुध्यो । बाघले उनीमाथि आक्रमण गर्यो । बाघसँग पौँठे जोरी खेले । ज्यान त जोगाए । तर उनले दाहिने आँखा गुमाउनु पर्यो ।
घाइते भएकाले उनी तीन महिना अस्पतालमा बस्नु पर्यो । आक्रमणमा परेको आँखाले काम गर्न सकेन । त्यसैले, अस्पतालबाट घर फर्केपछि पनि एक वर्ष कोठामा बिताउनु पर्यो । घरमूलीले काम गर्न नसकेपछि पारिवारिक समस्या थपिने भइहाल्यो ।
बाघको आक्रमणका कारण भदैको दुईमध्ये एउटा आँखा छैन । हिँड्दा चस्माको सहाराले हिँड्नु पर्छ । तर अपाङ्ग भएर बाँच्नु पर्दा उनलाई पश्चाताप छैन । दुई छाकको जोहो र छोराछोरीको अविभारा उनकै काँधमा छ ।
बाघको आक्रमणपछि साहित्यकार
गाउँ संरक्षणको गीत गाउँदै हाँसीखुसी जीवन बिताइरहेका छन् उनी । उनलाई संरक्षणमा जागरुक हुन संरक्षणमा लागिपरेका सङ्घसंस्थाले हरेक कार्यक्रममा निम्तो दिन्छन् ।
तर कतिपयले चाहिँ ‘आँखा नदेख्ने’ भनेर उनलाई हेयभावले हेर्थे । यसले उनलाई दुखी बनाउँथ्यो । उनले भने, ‘अमेरिकाको हिरोले आधा घण्टा कुरा गरेर सँगै फोटो खिचेर लगे । आफन्त र छिमेकीहरु भने मलाई हेय भावले हेर्छन् ।’
उनलाई वन्यजन्तु पनि छोरा–छोरीसरह लाग्दछ । उनी भन्छन्, ‘‘यिनको संरक्षण गर्नु हाम्रो कर्तव्य हो ।’ वन्युजन्तु संरक्षणप्रतिको उनको योगदानको कदर गर्दै संरक्षण पुरस्कार पनि प्रदान गरिएको छ ।
बाघको आक्रमणमा परी अस्पतालको शय्या र घरमै आराम गरेर बस्दा उनमा साहित्यको भाव पनि फुर्यो । मोफसलको पत्रिकामा उनका सयभन्दा बढी थारू भाषाका गजल, कविता स्थानीय पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् ।
खासमा उनी उनी आफैँ लेख्न भने जान्दैनन् । अपाङ्ग भएकाले भदैका मनमनै गुनेर बनाएका गजल, कवितालाई छोराले कापीमा लेखेर उतारी दिने गरेका छन् ।