झापा र बाँकेमा एक-एक कोरोना संक्रमितको मृत्यु-Sutra News

झापा र बाँकेमा एक-एक कोरोना संक्रमितको मृत्यु

सोमबार, १२ असोज २०७७

सोमबार, १२ असोज २०७७

काठमाडौं- झापाको गौरादह नगरपालिका-१ का ५१ वर्षीय कोरोना सङ्क्रमित एक पुरुषको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ।



श्वासप्रश्वासमा समस्या देखिएपछि असोज ३ गते अस्पतालको सघन उपचार कक्षमा भर्ना भएर उपचार गराइरहेको उनको आज दिउँसो मृत्यु भएको हो। मृतक सुनचाँदी व्यवसायी भएको बताइएको छ। उनमा असोज ६ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो।

अस्पतालका जनसम्पर्क अधिकारी नारायण दाहालका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा भर्ना गरेर उपचार थालिएको थियो। मधुमेह, उच्च रक्तचाप र कलेजोसम्बन्धी समस्या देखिएको उनको उपचारकै क्रममा आज मृत्यु भएको हो। योसँगै झापामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ।

त्यस्तै जाजरकोटको जुनीचाँदी-५ की ७६ वर्षीया कोरोना सङ्क्रमित एक महिलाको बाँकेमा आज मृत्यु भएको छ।  सिकिस्त बिरामी भएपछि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल पुग्ने क्रममा ती महिलाको बाटामै मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।

यही असोज ६ गते कोरोना सङ्क्रमण पुष्टि भएकी ती महिलामा केही दिनदेखि पित्तथैलीको समस्या देखिएको थियो। बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको समन्वयमा महिलाको शव व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट