काठमाडौं– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। मोरङको सुनबर्सी–७ का ६८ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिएका छन्।
नोबेल मेडिकल कलेज विराटनगरबाट रिफर भएका उनलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या थियो। उनको स्वास्थ्य जटिल बन्दै गएपछि आईसीयूमा राखिएको थियो। अवस्था नसुध्रिएपछि नोबेल मेडिकल कलेजले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरेको थियो।
उनी प्रतिष्ठानमा असोज १० गते बिहान ७ बजे भर्ना भएका थिए। प्रतिष्ठानले उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दै आएको थियो। तर, उपचारकै क्रममा आज बिहान ३ बजे उनको मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ।