बल्खुमा ५ महिनाअघि नै शिलान्यास हुनुपर्ने नेकपा मुख्यालय निर्माणको प्रगति शून्य-Sutra News

बल्खुमा ५ महिनाअघि नै शिलान्यास हुनुपर्ने नेकपा मुख्यालय निर्माणको प्रगति शून्य

मंगलबार, १३ असोज २०७७

मंगलबार, १३ असोज २०७७

काठमाडौं- योजना अनुसारै काम भएको भए तत्कालीन एमालेको मुख्यालय बल्खुमा नेकपाको नयाँ मुख्यालय भवन शिलान्यास भइ केही संरचना बनिसकेको हुनेथियो । तर, ५ महिना अघि नै शिलान्यास गर्ने भनिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नयाँ मुख्यालय भवन बनाउने कुरामा शून्य प्रगति छ ।



माघ १५–१९ (२०७६) मा बसेको नेकपाको दोस्रो केन्द्रीय कमिटी बैठकले भित्रै कार्यसम्पादन गर्न अनुकूल हुनेगरी तीन महिनाभित्र पार्टी कार्यालय भवनको शिलान्यास गर्ने निर्णय गरेको थियो । भवन निर्माण सम्बन्धी पहिलो निर्णय भने गत २९ मंसिरदेखि ६ पुस (०७६) सम्म भएको स्थायी कमिटी बैठकले गरेको थियो । केन्द्रीय कमिटी बैठकले उक्त निर्णयको स्वागत गर्दै तीन महिनाभित्रै शिलान्यास गर्ने निर्णय गर्यो ।

‘यो बैठक काठमाडौँको मदननगर बल्खुस्थित आफ्नै जमिनमा पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्ने केन्द्रीय सचिवालयको निर्णयलाई स्वागत गर्दछ’ केन्द्रीय कमिटी दोस्रो बैठकले पारित गरेको विभिन्न ११ बुँदे समसामयिक प्रस्तावहरुमध्ये अन्तिम प्रस्तावमा भनिएको छ, ‘देशको प्रमुख पार्टीको हैसियतले प्रभावकारी कार्य सम्पादन गर्न अनुकूल हुने गरी आगामी तीन महिनाभित्र पार्टीको केन्द्रीय कार्यालय शिलान्यास गर्ने निर्णय गर्दछ ।’

कार्यसम्पादनमा कठिनाई, तर काममा ढिलाई
एकतापछि पनि नेकपाले तत्कालिन एमालेको धुम्बाराहीस्थित भाडाको घरलाई नै आफ्नो मुख्यालयको रुपमा प्रयोग गर्दै आएको छ । भाडाको साँघुराको घरमा बस्नु पर्दा काममा कठिनाइ उत्पन्न भइरहेको र मनोवैज्ञानिक सन्देश समेत राम्रो नगएको ठानेको छ । ‘पार्टीको केन्द्रीय कार्यालय भाडाको घरमा सञ्चालन गर्नुपर्दा कार्यसम्पादनमा कठिनाइ उत्पन्न भइरहेको छ,’ स्थायी कमिटी बैठकपछि १० पुसमा जारी ७ बुँदे ‘अन्तरपार्टी निर्देशन–३’ मा भनिएको छ, ‘देशको प्रमुख राजनीतिक दलको आफ्नै कार्यालय भवन नहुँदा मनोवैज्ञानिक सन्देशसमेत राम्रो जान सकिरहेको छैन ।’

तत्कालीन एमालेले बल्खुमा कार्यालय निर्माणका लागि ०४८ देखि पार्टीका सांसद र सर्वसाधरणबाट चन्दा संकलन गरेर जम्मा भएको एक करोडभन्दा बढी रकमले सात रोपनी जग्गा किनेको थियो । त्यही जग्गामा २०५० मा करिब एक करोड ५० हजार रुपैयाँ खर्च गरेर भवन बनाइएको थियो ।

तर, जुन अवधिमा शिलान्यास गरेर निर्माण कार्य थाल्ने भनिएको थियो, त्यसमा पार्टीले ढिलाई गरिरहेको छ । नेकपा केन्द्रीय सदस्य एवं पार्टी कार्यालय सचिव इश्वरी रिजाल पार्टीभित्र चलेको विवाद र कोरोनाका कारण तोकिएको समयका काम हुन नसकेको बताउँछन् । भन्छन, ‘हामी तोकिएकै समयमा सुरु गरिसक्थ्यौं होला । तर पार्टीभित्रको विवादले लामो समय लियो । कोरोना महामारी पनि यही समयमा भयो ।’

उनका अनुसार २६ भदौमा सकिएको स्थायी कमिटी बैठकले भवन निर्माणको काम छिटो भन्दा छिटो अगाडि बढाउन पुनः निर्णय गरेको छ । आगामी बैठकले निर्माण भवन निर्माण सम्बन्धी कमिटी बनाउने सम्भावना रहेको उनी बताउँछन् । रिजाल भन्छन्, ‘छिटो भन्दा छिटो बनाउने भन्ने निर्णय स्थायी कमिटीबाट भइसकेको छ । अब आगामी बैठकले भवन निर्माणका लागि कमिटी बनाउला ।’

डिपिआर निर्माणको काम पनि शून्यमै
बल्खुस्थित मदननगरमा आधुनिक र सुविधा सम्पन्न पार्टी कार्यालय बनाउने योजना नेकपाको छ । ७ रोपनी क्षेत्रफलमा फैलिएको तत्कालीन एमालेको पार्टी कार्यालय १२ वैशाख ०७२ मा आएको भूकम्पले भत्किएपछि त्यसलाई भत्काएर नयाँ भवन बनाउने योजना एमालेको थियो । त्यसै अनुसार तत्कालीन महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा भवन निर्माण समिति समेत बनाइएको थियो । ३ जेठ २०७५ मा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकिकरण भएपनि नेकपाले पनि त्यही ठाउँमा पार्टी मुख्यालय बनाउने निर्णय गर्यो ।

नयाँ भवन बनाइँदा पार्टी अध्यक्षसहित सचिवालय सदस्य, पार्टीका विभिन्न विभाग र जनवर्गीय संगठन अटाउने, सभा–सम्मेलन गर्ने हल, स्वदेशी–विदेशी पाहुनाका लागि कक्ष, पत्रकार कक्षलगायत सुविधायुक्त भवन बनाउने योजना नेकपाको छ । पार्किङका लागि अन्डरग्राउन्ड मात्रै दुईतलाको बनाउने योजना छ । भवन निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन तीन कम्पनीलाई जिम्मेवारी पनि दिइएको भनिएको थियो ।

तर, कार्यालय सचिव रिजाल पहिले सामान्य सुझावका लागि मात्रै दिएको र अब नयाँलाई डिपिआर बनाउने जिम्मा दिइने बताउँछन् । ‘डिपिआर बनेको छैन’ उनी भन्छन्, ‘त्यो बनाउन भनेर दिइएको होइन, सामान्य सुझवका लागि दिएको मात्रै हो । अब डिपिआर बनाउने काम पनि नयाँलाई दिइन्छ ।’ डिपिआर तयार भएलगतै भवन निर्माणका लागि टेन्डर प्रक्रियामा जाने पनि बताइएको थियो । यसैगरी अध्यक्षद्वयले संयुक्तरुपमा शिलान्यास गर्ने योजना थियो ।

नेकपाले आफ्नो भवन निर्माण गर्न ‘पार्टीका सम्पूर्ण सदस्यहरुलाई न्यूनतम एक दिनको तलब वा आम्दानी बराबरको सहयोग गर्न र शुभेच्छुकहरुलाई दिल खोलेर सहयोग गर्न’ अपिल गरेको थियो । यसअघि पनि तत्कालीन एमालेले बल्खुको कार्यालय भवन बनाउँदा पनि यसैगरी चन्दा उठाएर बनाएको थियो ।

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा हाल ८ लाख संगठित सदस्य रहेका छन् । नेकपाले अझै यो संख्या बढाएर ३२ लाख सम्म पु¥याउने योजना बनाएको छ । नेकपाका सबै कार्यकर्ताले दिल खोलेर सहयोग गरे भने २५ करोड भन्दा बढी रकम उठ्ने छ ।

धुम्बाराही र पेरिसडाँडा
नेकपा अहिले पनि कार्यालयविहीन चाहिँ छैन । धुम्बाराहीस्थित पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानको भवनलाई नेकपाले मासिक एक लाख ८० हजार भाडा तिरेर मुख्यालयको रुपमा प्रयोग गरिरहेको छ । त्यस्तै, पेरिसडाँडास्थित तत्कालीन माओवादी केन्द्रको मुख्यालयलाई जनवर्गीय संगठनको कार्यालयको रुपमा प्रयोग गरिएको छ ।

एकतालगत्तै नेकपाको केन्द्रीय कार्यालय धुम्बाराही र पेरिसडाडाँ दुबैलाई तोकिएको थियो । त्यसै आधारमा एकताको भोलिपल्ट (४ जेठ ०७५) मा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) धुम्बाराही र पेरिसडाँडा पुगी त्यहाँ राखिएका आआफ्नो कुर्सीमा बसेर ‘कार्यभार सम्हालेका’ थिए।

तर, केही महिनापछि एउटै पार्टीको केन्द्रीय कार्यालय दुई–दुई स्थानमा राख्दा व्यवहारिक नहुने र नेताहरु दुबैतिर जान सम्भव नहुने भन्दै धुम्बाराहीलाई मात्रै पार्टीको केन्द्रीय कार्यालय बनाउने निर्णय नेकपाले गरेको थियो । उता पेरिसडाँडास्थित कार्यालयलाई चाहिँ ‘जनवर्गीय संगठनहरुको केन्द्रीय कार्यालय’ बनाउने निर्णय भएको थियो ।

तत्कालीन एमाले कार्यालय भूकम्पबाट भत्किएपछि धुम्बाराही सारिएको थियो । त्यो कार्यालय पनि विवाद मुक्त भने छैन । सरकारी जग्गामा बनेको भवनलाई पार्टी कार्यालयका रुपमा प्रयोग गरेको भन्दै विरोध पनि हुने गरेको छ ।

तत्कालीन एमालेले बल्खुमा कार्यालय निर्माणका लागि ०४८ देखि पार्टीका सांसद र सर्वसाधरणबाट चन्दा संकलन गरेर जम्मा भएको एक करोडभन्दा बढी रकमले सात रोपनी जग्गा किनेको थियो । त्यही जग्गामा २०५० मा करिब एक करोड ५० हजार रुपैयाँ खर्च गरेर भवन बनाइएको थियो ।

उता, शान्ति प्रक्रियामा आएको माओवादीले ०६४ मा पेरिसडाँडामा दुई रोपनी आठ आनामा रहेको तीनतले भवन दुई करोड ७२ लाख ५० हजारमा खरिद गरेको थियो । लगतै ०६५ मा भवनसँग जोडिएको १२, सात र २० आना जग्गा खरिद पनि खरिद गरिएको थियो । पछिल्लो पटक खरिद गरिएको जग्गा बने ऋणमा रहेको बताइन्छ ।

आफ्ना नेता मदन भण्डारीको नाममा मदननगर नामकरण गरेको तत्कालीन एमाले पक्ष उक्त ठाउँमा पार्टी कार्यालय बनाउने कुरालाई भावनात्मक रुपमा लिन्छ । धुम्बाराही कार्यालयका तुलनामा पेरिसडाँडा फराकिलो र व्यवस्थित मानिन्छ । पेरिसडाँडास्थित मुख्य भवनको उपल्लो तलामा ठूलो भवन हल छ । अरु संरचना पनि राम्रो अवस्थामा छन् ।

तैपनि भाडाको घरलाई नै नेकपाको मुख्यालय बनाइएको छ । पार्टी एकता यता एक पटक ४ असोजमा पेरिसडाँडास्थित कार्यालयमा केन्द्रीय सचिवालय बैठक बसेको थियो । तर, सोही बैठकको निरन्तरताको रुपमा अर्काे बैठक भने ६ असोजमा बालुवाटारस्थित प्रधानमन्त्री निवासमै बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट