सुदूरपश्चिममा घट्यो कोरोना संक्रमण, जनजीवन सहज बन्दै-Sutra News

सुदूरपश्चिममा घट्यो कोरोना संक्रमण, जनजीवन सहज बन्दै

बुधबार, १४ असोज २०७७

बुधबार, १४ असोज २०७७

डोटी- दुई महिनाअघिसम्म कोरोना विस्फोटक रूपमा कोरोना संक्रमणमा वृद्धि भएको सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय संक्रमित छिट्टै निको पनि भएका छन्। यहाँका नौवटै जिल्लामा कोरोना संक्रमित निको हुनेको संख्यामा वृद्धि हुँदै गएको पाइएको छ।



सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार पछिल्लो समय यो प्रदेशमा कोरोना निको हुनेको संख्या पाँच हजार ९२९ पुगेको छ। कोरोनाकै कारण सुदूरपश्चिम प्रदेशमा ११ जनाको मृत्यु भएको छ। तर, पछिल्लो समय निको हुने दरमा उल्लेख्यमात्रामा वृद्धि भएको निर्देशनालयले जनाएको छ।

सो स्वास्थ्य निर्देशनालयका अनुसार यहाँ एक समय करिब सात हजार संक्रमित पुगेका थिए। तर, अहिले भने सक्रिय संक्रमितको संख्या बढीमा एक हजार मात्र रहेको छ। उनीहरु पनि निको हुने क्रममा रहेका चिकित्सकहरु बताउँछन्।

यहाँका कतिपय गाउँपालिका पछिल्लो समय कोरोनामुक्त गाउँपालिका भनेर घोषणा पनि गरेका छन्। डोटीको बडिकेदार गाउँपालिका अहिले कोरोनामुक्त गाउँपालिका भएको छ। कोरोना संक्रमित निको हुने दर बढेसँगै यहाँका गाउँघरको जनजीवन पुनःसामान्य बन्दै गएको पनि स्थानीयवासीहरु बताउन थालेका छन्।

केही समयअघि यो गाविसमा एकैपटक १३ जना संक्रमित थिए। भारतबाट आएका उनीहरुसँगै अरु पनि निको भएर घर फर्र्किएका बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताए।

प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका निर्देशक डा.गुणराज अवस्थीका अनुसार हालसम्म कैलालीबाट एक हजार ३३१, डोटीका ९५२, अछामका ७९५, कञ्चनपुरका ६१६, बाजुराका ४४२, बैतडीका ३२२, डडेल्धुराका २९९, बझाङका २८० र दार्चुलाका ४१ जना कोरोना संक्रमणबाटमुक्त भई घर फर्किएका छन्।

यहाँका नौवटै जिल्लाका करिब एक हजार जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन्। बाँकीको विभिन्न अस्पताल तथा आइसोलेशन राखेर उपचार हुँदै गरेको निर्देशक डा.अवस्थीको भनाइ छ।

सुदूरपश्चिममा पहिलो पटक गएको विसं २०७६ चैत १४ गते धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षीय एक युवकमा कोरोना संक्रमण देखिएको थियो। विदेशबाट आएका उनी सेती प्रादेशिक अस्पतालमा ३० दिनको उपचारपछि निको भएका थिए।

यहाँका जिल्लामा भारतबाट रोजगारी गरी फर्किएका नागरिकसँगै उनीहरुका परिवारमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्यकर्मी बताउँछन्। संक्रमितभन्दा पनि डिस्चार्ज हुनेको संख्या बढ्दै गएकाले कोरोनाको त्रासले खासै आत्तिइ हाल्नुपर्ने अवस्था नरहेको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य प्रशासन महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताउँछन्।

उनले भने, ‘संक्रमित हुनेभन्दा निको हुने अर्थात् डिस्चार्ज हुने दर बढी छ, कोरोना लागिहाले पनि अत्तिइ हाल्नुपर्ने अवस्था छैन, सावधानी भने अपनाउनुपर्छ।’

सुदूरपश्चिम प्रदेशमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारीलगायतमा पनि संक्रमण देखिएको थियो। कोरोनो नियन्त्रण तथा सावधानीका लागि प्रदेश सरकारसहित यहाँका सबै ८८ वटा स्थानीय तहले सावधानी अपनाएका कारण समुदायमा संक्रमण फैलिन नपाएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरको दाबी छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट