सुदूररपश्चिम- गाडीमै चढे भनेपनि सामान्य अवस्थामा सुदूरपश्चिम प्रदेशको हरेक जिल्लाबाट मानिसहरु दुई दिनमा काठमाडौँ आइपुग्न सक्छन्। कैलालीको मोहन्याल गाउँपालिका-३, ताम्जा, बारजेना, रागामलेखा र सावावासीले आफ्नै गाउँपालिकाको वडा कार्यालय आउजाउ गर्न दुइ दिन हिंड्नुपर्ने बाध्यता छ।
वडा नं ३ सामान्य सरकारी कामकाजका लागि दुई दिन खर्चिनुपर्दा उनीहरूलाई निकै सकस भइरहेको छ। मोहन्याल गाउँपालिका-३, को कार्यालय फल्ले बिसौनामा छ। त्यहाँ पुग्न ताम्जा, बारजेना, रागामलेखा र सावावासीलाई गाउँबाट दुई दिन पैदल हिडेर जानुपर्छ।
सुदूरपश्चिमको कुनै जिल्लाबाट गाडी चढ्ने हो भने सामान्य अवस्थामा दुई दिनमै काठमाडौँ पुग्न सकिन्छ। तर, ‘गाउँ गाउँमा सिँहदरवार’ पुगेको भनिएको अवस्थामा ती ठाउँका मानिसहरुलाई आफ्नै वडाको ‘सिँहदरवार’ पुग्न दुई दिन लाग्ने विडम्बनापूर्ण अवस्था छ।
‘भौगोलिक विकटताका कारण सडकलगायत विकासका पूर्वाधार निर्माण हुन नसक्दा वडावासीलाई यस्तो बाध्यता आइपरेको हो’ रामलेखा गाउँका रामबहादुर रावलले भने, ‘वडाको फल्ले बिसौनामा रहेको वडा कार्यालयसम्म पुगेर सेवा लिन गाउँवासीलाई दुई दिन पैदल हिँड्नुपर्ने बाध्यता छ।’
रावलका भनाइमा, गाउँका बासिन्दालाई दैनिक उपभोग्य वस्तु खरिद गर्न पनि कर्णाली नदी पार गरेर सुर्खेतको बिजौरा बजारमाथि निर्भर हुनुपर्ने अर्को बाध्यता पनि छ। उनी भन्छन्, ‘डुङ्गामा जोखिम मोलेर कर्णाली नदी पार गरेर पुगिने बिजौरा गाउँबाट दैनिक उपभोग्य समान ल्याएर जीविका चलाउनुपर्ने बाध्यता।’
सुदूरपश्चिम प्रदेशको राजधानी जिल्ला कैलालीलाई प्रदेशका अन्य जिल्लाको तुलनामा सुगम जिल्ला मानिन्छ। तर, जिल्लाको मोहन्याल गाउँपालिकाको भौगोलिक विकटताका कारण पुग्न नसकेको विकासका पूर्वाधारले त्यहाँका बासिन्दाको जीवनयापन कष्टकर छ। चुरे पहाडी क्षेत्रमा पर्ने यो गाउँपालिकामा सात वडा रहेका छन्।
गाउँपालिकाका कतिपय वडामा कच्ची सडक पुगेको तर वर्षा लागेसँगै भत्किने गरेका सडक समयमै मर्मतसम्भार नहुँदा आवागमन बन्द हुने गरेको छ। वडा नं ४ का अध्यक्ष टेकेन्द्र बोगटीले स्तरीय बाटो नहुनु गाउँपालिकाको मुख्य समस्या रहेको बताए। ‘अधिकांश वडामा बिजुलीबत्ती छैन’ उनले भने, ‘शिक्षा र स्वास्थ्यका पूर्वाधारसमेत पर्याप्त नहुँदा सहज ढङ्गले सेवा पाउन समस्या हुने गरेको छ।’
वडा नं ४ का बासिन्दा यज्ञबहादुर कठायतले गाउँवासी स्वास्थ्य चौकीको सहज पहुँचबाट पनि टाढा रहेको उल्लेख गरे। स्वास्थ्य चौकी पनि गाउँ नजिक नहुँदा बिरामी हुने मान्छेले सहजरुपमा समयमै उपचार पाउन नसकिरहेको जानकारी पनि उनले दिए। ‘सिकिस्त अवस्थाको बिरामीलाई धनगढीसम्म पुर्याउनु पर्दा बाटोमै दुई दिन लाग्छ’ उनी भन्छन्, ‘समयमै पु¥याउन नसकिएको अवस्थामा कतिपयको बाटैमा ज्यान जाने गरेको छ।’
जिल्लाको उत्तरतर्फको चुरेपहाडी क्षेत्रमा पर्ने साविकका पण्डौन, खैराला र मोहन्याल गाउँपालिकालाई समेटेर मोहन्याल गाउँपालिका बनाइएको थियो। स्थानीय तहको निर्वाचनपछि गाउँपालिकाको कार्यालय झण्डै एक वर्षसम्म धनगढीको एक निजी घर भाडामा लिइ सञ्चालन गरियो।
पछि धनगढीबाट पनि कार्यालय स्थानान्तरण गरेर सुखड बजारमा सञ्चालन गर्न थालियो। पछिल्लो एक वर्षदेखि मोहन्यालकै खिमडी भन्ने ठाउँमा गाउँपालिकाको कार्यालय सञ्चालनमा छ।
परिवर्तनपछि सरकारी सेवासुविधा गाउँठाउँमै पाइन्छ भनेको सुनिएको भए पनि एक डेढ वर्षसम्म गाउँपालिका कार्यालय र वडा कार्यालय खोज्दैमा समय बितेको दुखेसो स्थानीयवासी प्रेमबहादुर बुढामगरको छ। ‘देशमा ठूलै परिवर्तन भएको भनिन्छ’ धनगढीमा भेटिनुभएका बुढामगरले भने, ‘तर मोहन्यालस्तरीय सडकले नजोडिँदा त्यहाँका बासिन्दाले परिवर्तनको अनुभूति गर्न सकेका छैनन्।’
विकटताका कारण, बाटो, विद्युत्, सञ्चारजस्ता आधारभूत सेवासुविधा पुग्न नसकेका कारण गाउँपालिकाको कार्यालय समयमै आफ्नै क्षेत्रमा सञ्चालन गर्नमा ढिलाइ भएको गाउँपालिकाका अध्यक्ष नवलसिंह रावल बताउँछन्।
‘गाउँपालिका भौगोलिक विकटता, अभाव, गरिबीले अक्रान्त छ’ उनले भने, ‘समयमै कार्यालयमा कर्मचारीको अभाव हुँदा पनि विगतमा चाहेजति काम गर्न सकिएन।’ गाउँपालिकाका प्रशासकीय अधिकृत जयानन्द जैसीले चालू वर्षको बजेट नीति कार्यक्रममा कृषि, सिँचाइ र सडक निर्माणलाई प्राथमिकता दिइएको उल्लेख गरे।
नयाँ सङ्घीय संरचनाअनुसार कैलालीमा कायम गरिएका १३ वटा स्थानीय तहमध्ये मोहन्याल गाउँपालिका र चुरे गाउँपालिका चुरे पहाडी क्षेत्रका गाउँपालिका हुन्। समुद्र सतहदेखि एक हजार १ सय देखि एक हजार ७ सय मिटरको उचाइमा रहेको यो गाउँपालिकाको जनसङ्ख्या झण्डै २२ हजार छ। रासस
प्रतिक्रिया दिनुहोस्