दुई महिनामा १३९ जनामा स्क्रबटाइफस-Sutra News

दुई महिनामा १३९ जनामा स्क्रबटाइफस

बुधबार, १४ असोज २०७७

बुधबार, १४ असोज २०७७

चितवन- दिनहुँ कोरोना सङ्क्रमित बढिरहेका समयमा जिल्लामा स्क्रबटाइफस र डेङ्गुको सङ्क्रमित पनि बढिरहेका छन्। साउन १ गतेदेखि हालसम्म १३९ जनामा स्क्रबटाईफस र ३१ जनामा डेङ्गु सङ्क्रमण देखिएको हो।



स्वास्थ्य कार्यालय चितवनका अनुसार यो अवधिमा भरतपुर अस्पतालमा उपचार गराएका ३९ महिला र २९ पुरुष गरी ६८, चितवन मेडिकल कलेजमा ३९ महिला र २३ पुरुष गरी ६२ र कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल ‘पुरानो मेडिकल कलेज’ मा ६ जना महिलामा सङ्क्रमण पुष्टि भएको हो।

यसैगरी मनकामना अस्पतालमा उपचार गराएका एक पुरुष, नारायणी सामुदायिक र नेशनल सिटी अस्पतालमा एक-एक महिलामा सङ्क्रमण पुष्टि भएको कार्यालयका किट नियन्त्रण निरीक्षक गीता आचार्यले जानकारी दिए। यस्तै भरतपुर अस्पतालमा उपचार गराएका सात महिला र २० पुरुषमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। चितवन मेडिकल कलेजमा दुई पुरुष र नेशनल सिटी अस्पतालमा दुई महिलामा पनि यही अवधिमा डेङ्गु देखिएको छ।

मुसामा हुने एकप्रकारको माइट भन्ने सङ्क्रमित किर्नाको माध्यमबाट ओरियन्टिया सुत्सुगामुसी भन्ने व्याक्टेरियाको कारणले स्क्रबटाईफस हुने भरतपुर अस्पतालका फिजिसियन डा. महेन्द्र अग्रहरिले जानकारी दिए। यो रोग गर्मी र वर्षाको समयमा देखिन्छ।

उक्त किर्नाले टोकेको सामान्यतया ५ देखि २० दिनभित्र यो रोगको लक्षण देखिन थाल्छ। यसमा उच्च ज्वरो आउने, शरीरमा टोकेको ठाउँमा घाउ हुने, जण्डीस हुने र पेट दुख्ने अग्रहरिले बताए।

यसैगरी एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सङ्क्रमण हुने भाइरल ज्वरोमध्ये एक डेङ्गु हो। यसको सङ्क्रमणमा सुरूआती दिनमा शरीरमा रातो रातो डावर आउने, एक सय डिग्रीभन्दा बढी ज्वरो आउने, गिजा र पिसाबमा रगत देखिने जस्ता लक्ष्यण देखा पर्ने डा. अग्रहरिको भनाइ छ।

गत हप्ता परेको निरन्तर वर्षाले जिल्लाका शहरी क्षेत्र डुवानमा परेको थियो। अझै पनि ती ठाउँहरुमा पानी जमेको छ। जमेको पानीका कारण यस्ता रोगहरुको सङ्क्रमण अझै बढ्न सक्ने चेतावनी चिकित्सकहरुले दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट