भाडा दोब्बर भएपछि लामो दूरीका सार्वजनिक यातायातमा यात्रु घट्दै, प्लेनमा बढ्दै-Sutra News

भाडा दोब्बर भएपछि लामो दूरीका सार्वजनिक यातायातमा यात्रु घट्दै, प्लेनमा बढ्दै

बुधबार, १४ असोज २०७७

बुधबार, १४ असोज २०७७

काठमाडौं- लकडाउन खुलेसँगै प्लेनमा यात्रा गर्नेहरुको संख्या ह्वात्तै बढेको छ। सार्वजनिक बस र प्लेनको भाडादर बराबरजस्तै भएपछि प्लेनमा यात्रा गर्नेहरुको संख्या बढेको हो।



कोरोनको कारण थलिएको आन्तरिक एयरलायन्स कम्पनीहरु असोज ५ पाँच गतेबाट सञ्चालनमा आएका थिए। आन्तरिक उडान सञ्चालनमा आएसंगै काठमाडौं उपत्यकामा आउने र उपत्यकाबाट बाहिरिनेहरुको संख्या बढेको हो। योसंगै प्लेनमा यात्रा गर्ने यात्रीहरु खचाखच भएको एयरलायन्स कम्पनीहरुले जानकारी दिएका छन्।

यता सार्वजनिक बसको भाडा दोब्बर भएपछि लामो रुटका यात्रीहरु घटेका छन्। सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सुरक्षा अपनाउन भन्दै बसमा आधा सिटमा मात्र यात्रु राख्न पाउने निर्देशिका जारी गरेको छ। जसका कारण यात्रुहरु दोब्बर भाडा तिर्न बाध्य छन्। बसको दोब्बर भाडा तिर्नुभन्दा केही रकम थप गरेर प्लेनमै यात्रा गर्न सजिलो भएकाले पनि यात्रुहरु त्यतातर्फ आकर्षित बनेका छन्।

विभिन्न बस व्यवसायीहरुले पनि सार्वजनिक बसको भाडा बढेपछि यात्रुहरु घटेको बताउँछन्। ‘लामो दूरीको यात्रा गर्नेलाई अहिले बसमा भन्दा प्लेनमा घर जान सस्तो र सजिलो भएको छ। यसले गर्दा बसमा यात्रा गर्नेको संख्या घटेको छ,’ नयाँ बसपार्क टिकट काउन्टरका सञ्चालक जिके भट्टराई भन्छन्।

यता यात्रुहरुको संख्या बढेसंगै एयरलायन्स कम्पनीले विभिन्न गन्तव्यका लागि उडान थप्ने तयारी गरेको छन्। बुद्ध, यती, श्री एयरलायन्सलगायत निजी वायुसेवा कम्पनीले बिहीबारदेखि उडान संख्या थप्ने भएका हुन्।

गत सोमबारदेखि दैनिक १८ वटा नियमित उडान सुरु गरेको बुद्धले यात्रु बढेपछि एक उडान थपेको छ। कम्पनीका प्रवक्ता रुपेश जोशीले एकसाता अवधिमा उडान गरेका सबै गन्तब्यमा यात्रु अकुपेन्सी राम्रो रहेको बताए। उनले यात्रुको माग थेग्न उडान थप्न लागेको जानकारी दिए।

दैनिक २२ उडान गरिरहेको बुद्धले आगमन र प्रस्थान गरी ४४ उडान भर्दै आएको छ। अहिले भारतको बनारसबाहेक सबै गन्तव्यमा उडान भइरहेको प्रवक्ता जोशीले बताए। ‘एक सातामा कम्तीमा १५ हजार बढी यात्रुले सेवा लिनुभएको छ,’ उनले भने।

बुद्धले सामान्य अवस्थामा दैनिक एक सय उडान गर्ने गरेको थियो। कम्पनीले १३ गन्तव्यमा आन्तरिक उडान भर्दै आएको छ।

कम्पनीले दसैंको लागि अग्रिम टिकट बुकिङ पनि सुरु गरेको छ। जोशीका असुसार कम्पनीले दसैंको लागि टिकट बुकिङ गराउँदा अहिले सरकारले जुन भाडादर निर्धारण गरेको छ, त्यही भाडादर कायम गरेको छ।

ई-सेवामा निर्धारित बुद्धको भाडा दर यस्तो छ

काठमाडौं-विराटनगर एकतर्फको प्रतिव्यक्ति भाडादर ३ हजार पाँच रुपैयाँ रहेको छ। त्यस्तै काठमाडौं-भैरवाहाको २ हजार आठ सय, काठमाडौं-भरतपुर २ हजार ८ सय पाँच, काठमाडौं-धनगढी ६ हजार २ सय ५५, काठमाडौं-जनकपुर २ हजार, माउनटेन फ्लाइट १० हजार ३ सय ३५, काठमाडौं-नेपालगञ्ज ४ हजार पाँच सय, काठमाडौंबाट-पोखरा २ हजार, काठमाडौंबाट-राजबिराज ३ हजार २ सय ५५, काठमाडौं-सिमरा २ हजार ९ सय ५, काठमाडौं-सुर्खेत ७ हजार ५ सय ५५ रुपैयाँ रहेको छ।

त्यस्तै यती एयरलायन्सले अहिले दैनिक दुईतर्फी ३८ उडान गरिरहेको छ। कम्पनीले सामान्य अवस्थामा दुईतर्फी ८० वटासम्म उडान गर्ने गरेको प्रवक्ता सुर्दशन बर्तौलाले बताए। ‘नजिकिएको चाडपर्व र यात्रुको मागबमोजिम उडान संख्या बढाउन नियमित उडान अनुमतिका लागि प्राधिकरणसँग माग गरिएको छ। उडान पनि स्वीकृत भइसकेको छ। यतीले अहिले विराटनगर, पोखरा र भरतपुरमा समान दुई तथा अन्य गन्तव्यमा एक–एक उडान गरिरहेको छ। यतीको भगिनी संस्था तारा एयरले दुर्गम क्षेत्रमा यात्रु तथा कार्गो उडान गरिरहेको छ,’ उनले भने।

ई-सेवामा निर्धारित यतीको भाडादर

यतीको काठमाडौंबाट भद्रपुरसम्मको भाडा ४ हजार रुपैयाँ रहेको छ। त्यस्तै काठमाडौंबाट भैरवाको भाडादर ३ हजार रुपैयाँ, काठमाडौंबाट बिराटनगरको भाडादर ३ हजार पाँच सय रुपैयाँ, काठमाडौंबाट जनकपुर २ हजार रुपैयाँ, काठमाडौंबाट माउन्टेन १० हजार ३५५ रुपैयाँ, काठमाडौं नेपालगञ्ज ४ हजार ८०० सय रुपैयाँ, काठमाडौंबाट पोखरा २ हजार रुपैयाँ भाडादर रहेको छ।

त्यस्तै श्री एयरलायन्सले पनि अहिले विभिन्न गन्तव्यको आन्तरिक उडान गर्दै आएको छ। यो कम्पनीले अहिले ८ वटा स्थानमा उडान भरिरहेको छ। भइरहवा, भद्रपुर, बिराटनगर, धनगढी, राजबिराज नेपालगञ्ज, जनकपुर र पोखराको लागि उडान भरिरहेको कम्पनीको प्रवक्ता अनिल मानन्धरले बताए।

त्यस्तै समिट एयरलायन्सले पनि विभिन्न १३ ठाउँमा आन्तरिक उडान भर्दै आएको छ। यसले भद्रपुर, बाजुरा, डोल्पा, जोमसोम, जुम्ला, लुक्ला, नेपालगञ्ज, फाप्लु, पोखरा, रामेछाप, रारा, सिमीकोट, सुर्खेत आदी ठाउँमा उडान भर्दै आएको कम्पनीका कार्यकारी निर्देशक मनोज कार्कीले बताए।

उनी भन्छन्, ‘अहिले कोरोनाको कारण सबै गन्तव्यमा उडान सञ्चालनमा ल्याउन सकिएको छैन। जति ठाउँहरुमा प्लेन सञ्चालनमा आएका छन्, त्योचाहिँ राम्रो छ।’

अहिले बसमा यात्रा गर्नभन्दा पनि प्लेनमा यात्रा गर्न सहज र छिटो हुने भएको कारण प्लेनको संख्या थपेर सञ्चालन गर्न लागेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट