अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस: सहयोगी बन्दै सेवा केन्द्र-Sutra News

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस: सहयोगी बन्दै सेवा केन्द्र

बिहिबार, १५ असोज २०७७

बिहिबार, १५ असोज २०७७

गण्डकी- बुढ्यौली उमेरका कारण घरको पट्यार लाग्दो बसाईमा टोल समाजमा सञ्चालित ज्येष्ठ नागरिक सेवा केन्द्रहरु बुढापाकाका लागि वरदान सावित भएको छ। परिवारका सदस्यको व्यस्तताले दिनभर एक्लै समय बिताउँदा हुने अत्यार लाग्दो अवस्थाको अन्त हुँदै गएको छ।



त्यस्तै सेवा केन्द्र मध्येको पोखरा महानगरपालिका वडा नं. १७ विरौटामा सञ्चालित ज्येष्ठ नागरिक वैदिक सनातन (वेदान्त दर्शन) सत्संग स्थल पनि एक हो।

स्थानीय समाजसेवी ७८ वर्षका टोपराज ढुङ्गानाको विशेष पहल एवम् समुदायको आर्थिक सहयोगले हालै सञ्चालनमा आएको केन्द्रमा अहिले दैनिक ३० देखि ३५ बुढापाका जम्मा हुने गरेका छन्। कोरानाले मास्क, सेनिटाईजरको प्रयोग र सामाजिक दूरी पनि कायम छ।

बिहान दशदेखि साँझ पाँच बजेसम्म सञ्चालन हुने केन्द्रमा मनोरञ्जनका लागि भजन र सत्संग गरिन्छ। उनीहरुलाई खाजा र फलफूल खुवाउने र समय मिलार धार्मिक क्षेत्रको भ्रमण गरउाने गरेको ढुङ्गानाले बताए।

ज्येष्ठ नागरिक मञ्च पोखरा १७ का अध्यक्षसमेत रहेका ढुङ्गानाले सो स्थानको सार्वजनिक जग्गामा तीन लाख ७२ हजारको लागतमा आवश्यक सभा हल बनाएर केन्द्र सञ्चालन गरिएको बताए। भवन बनाउन १४० जनाले आर्थिक सहयोग गरेका थिए। अद्धैत संस्था पोखरा १७ का अध्यक्ष ज्ञानेन्द्र सुवेदीले केन्द्रमा दैनिक खाजाको व्यवस्था सहित सरसफाई गर्दै आएका छन्।

भ्रमण एवम् सम्मानका लागि पोखरा महानगरपालिबाट दुई पटकमा एक लाख ४५ हजार रुपैया प्राप्त भएको ज्येष्ठ नागरिक मञ्च १७ का उपाध्यक्ष देवीबहादुर थापाले जानकारी दिए।

दिवा सेवा केन्द्रसँगै जोडिएका दुई वटा कोठामा घरेलु श्रमिक एवम् रोजगार बालबालिकालाई पठनपाठनको व्यवस्था गरिएको छ। गोरखा, वाग्लुङ, चितवन, काभ्रेपलाञ्चोक, रोल्पा, मुगु, रामेछाप लगायतका १० बालिका सहित २५ बालबालिका त्यहाँ नियमित अध्ययनरत छन्।

पोखरा उद्योग वाणिज्य संघद्धारा सञ्चालित वालश्रम न्यूनिकरण कार्यक्रमअन्तर्गत श्रमिक तथा जोखिममा रहेका बालकालिकालाई अनौपचारिक शिक्षा प्रदान गरी विद्यालय भर्ना गरिएको छ। तीन जना शिक्षिका सहित आवश्यक खर्च संघले दिँदै आएको छ।

यसैबीच तीसौं अन्तर्राष्ट्रिय ज्येष्ठनागरिक दिवसको सन्दर्भमा लायन्स क्लव अफ पोखरा सिटीद्वारा सो केन्द्रका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण एवम् घरेलु श्रमिक बालबालिकालाई शैक्षिक तथा सरसफाईका सामाग्री वितरण गर्यो।

क्लवका अध्यक्ष निरज पन्तका अनुसार सत्संग सभा भवनका लागि कार्पेट, शैक्षिक सामाग्री र स्वास्थ्य परिक्षणका साथै निः शुल्क औषधि वितरणमा एक लाख मुल्य बरावरको सहयोग गरिएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट