उपत्यकामा बजार अनुगमन तीव्र, १२ लाख बढी असुली-Sutra News

उपत्यकामा बजार अनुगमन तीव्र, १२ लाख बढी असुली

बिहिबार, १५ असोज २०७७

बिहिबार, १५ असोज २०७७

काठमाडौं– काठमाडौं महानगरपालिकाले विगत २२ दिनदेखि गरेको अनुगमनमा व्यापारीबाट जरिवानास्वरुप रु १२ लाख ८७ हजार असुल उपर गरेको छ। कामपाले तरकारी, फलफूल र खाद्य गरी १२३ वटा पसलमा अनुगमन गरेको थियो।



यसरी गरिएको अनुगमनका क्रममा मूल्य र गुणस्तरमा उपभोक्तालाई ठगी गर्ने कालीमाटी तरकारी तथा फलफूल बजारका २ र बल्खु तरकारी तथा फलफूल बजारका २ गरी ४ जना व्यापारीलाई कालोबजारीको कसुरमा जिल्ला प्रशासन कार्यालयमार्फत कारवाही अघि बढाइएको छ।

उनीहरुले रु ४६ मा खरिद गरेको प्याजको कृतिम अभाव सृजना गरेर १३० मूल्यमा बेचिरहेको थिए। उनीहरुबाट बरामद भएको १३ हजार २६८ किलो प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत सबै खर्च कटाएर अधिकतम रु ६० प्रतिकिलाको दरले प्रतिव्यक्ति ३ किलोका दरले बिक्री प्रबन्ध गरिएको छ। अनुगमन टोलीले बिक्रीका लागि राखिएका अखाद्य सामग्री बिक्री गरिरहेको अवस्थामा ११ वटा पसलबाट करीब रु १० लाख मूल्य बराबरका सामान बरामदपछि नष्ट गरिएको छ।

यसरी नष्ट गरिएका सामानमा दाल मैदा, खाने तेल, बट्टा वा प्याकेटमा राखिएका खानेकुरा, चकलेट, मिठाइ, बिस्कुट, मसला, फलफूल, जुस, चाउचाउ, चाउमिन, पानीलगायत खानेकुरा तथा पेय पदार्थ छन्।

खुद्रा व्यापार गर्ने ७६ वटा पसललाई ७ दिनभित्र दर्ता प्रक्रियामा आउन निर्देशन दिइएको छ। बाँकी पसललाई सुधारका लागि सचेत गराइएको छ। उपभोक्ता अधिकारका लागि नेपालको संविधानको अनुसूची ८ ले र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गरेर महानगरले नियमित तरकारी, फलफूल र माछामासुको अनुगमन गर्नुपर्ने छ।

कामपाको उपप्रमुख एवम् अनुगमन समितिका संयोजक हरिप्रभा खड्गीले कोरोना कहरका समयमा जनताहरु एकातिर आय श्रोत बिग्रिएर चिन्तित छन्। अर्कातिर चर्को मूल्य वृद्धिले समस्यामा परेकाले नियमित अनुगमन गरेको बताउँछन्। कामपा कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीले, अनुगमनका क्रममा काठमाडौंका ठूला तरकारी बजार कालीमाटी, बल्खु, नक्साल, तीनकुने, मनोहरा, माछापोखरी र कुलेश्वरको फलफूल पसल अनुगमन गरिएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट