मन्त्रालय बढाउने काम गरियो भने विरोध गर्छौं : पौडेल-Sutra News

मन्त्रालय बढाउने काम गरियो भने विरोध गर्छौं : पौडेल

बिहिबार, १५ असोज २०७७

बिहिबार, १५ असोज २०७७

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालय फुटाएर भागबन्डा मिलाए विरोध गर्ने बताएका छन्।



मन्त्रालय फुटाएर मन्त्री पद बाँड्ने गैर-जिम्मेवार प्रवृत्तिलाई नयाँ संविधानले अन्त्य गर्न खोजे पनि त्यसको उलंघन गर्न खोजिएको भन्दै पौडेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै विरोध गर्ने बताएका हुन्।

‘जनतालाई सर्वसुलभ स्वास्थ्य सुविधा दिन नसकिरहेका बेला फेरि मन्त्रालय बढाउने काम गरियो भने त्यसको घोर विरोधमा हामी उत्रने छौं,’ पौडेलले बिहीबार स्टाटसमा भनेका छन्। देशले कर्मचारीको पेन्सनसमेत धान्न नसक्ने अवस्था सिर्जना भइसकेको उनको भनाइ छ।

पौडेलले थप भनेका छन्, ‘देश विकास गर्ने सारा बजेटलाई अनावश्यक भर्ती केन्द्र खोलेर विना दरबन्दी जतासुकै मनपर्दी ढंगले मान्छे भर्ने काम कम्युनिस्टले चलाएका छन्। कर्मचारीकै पेन्सन धान्न नसक्ने अवस्था भइसक्यो।’ देशलाई भार मात्रै पर्ने गरी प्रधानमन्त्रीले आफ्नो सुविधाका लागि मन्त्रालय फुटाउन नहुने पौडेलको तर्क छ।

पार्टीभित्रको आन्तरिक विवाद मिलाउन राज्यमन्त्रीहरूलाई राजीनामा गर्न लगाएर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालय फुटाउन खोजेको चर्चा छ। प्रधानमन्त्री कार्यालयसहित अहिले २१ मन्त्रालय छन्। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट