मन्त्रिपरिषदको आकस्मिक बैठक: अमेरिकामा राजदूत र नयाँ मुख्यसचिव नियुक्तिको सम्भावना-Sutra News

मन्त्रिपरिषदको आकस्मिक बैठक: अमेरिकामा राजदूत र नयाँ मुख्यसचिव नियुक्तिको सम्भावना

बिहिबार, १५ असोज २०७७

बिहिबार, १५ असोज २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार विहानका लागि आकस्मिक रूपमा मन्त्रिपरिषदको बैठक डाकेका छन्। प्रधानमन्त्री ओलीले १० बजेका लागि बैठक डाकेका हुन्।



मुख्यसचिव, संयुक्तराज्य अमेरिकामा राजदूत र मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयहरुको विभाजनका लागि मन्त्रिपरिषद् बैठक डाकिएको हुन सक्ने स्रोतले बताएको छ।स्रोतका अनुसार, आजको बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीलाई अमेरिकाका लागि राजदूत सिफारिस गर्ने र नयाँ मुख्यसचिवमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नियुक्त गर्ने सम्भावना छ।

मुख्यसचिव रेग्मीको पदावधि आगामी ४ कार्तिकसम्म छ। नियमित रूपमा उनले अवकास पाएको खण्डमा बैरागी पनि परराष्ट्र सचिवको पाँच बर्षे पदावधि पूरा गरेर जानुपर्ने भएकाले त्यसअगावै रेग्मीलाई अमेरिकाको राजदूत बनाएर बैरागीलाई परराष्ट्र सचिव बनाइन लागिएको हो।

यसैगरी मन्त्रालय विभाजनका लागि मन्त्रिपरिषदको कार्यसम्पादन नियमावली पनि आजैको बैठकले संसोधन गर्ने सम्भावना छ। यसबारेमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० सँग प्रधानमन्त्री ओलीले सहमति गरिसकेका छन्। मन्त्रिपरिषद् विस्तारका लागि ओलीले भूमि व्यवस्था, गरिवी निवारण तथा सहरी, भौतिक पूर्वाधार तथा यातायात, उर्जा लगायतका मन्त्रालयहरुलाई विभाजन गर्न चाहेका छन्।

त्यसक्रममा ऊर्जा मन्त्रालयलाई विभाजन गरी सिंचाई तथा नदी व्यवस्थापन मन्त्रालय, भूमि व्यवस्थालाई विभाजन गरी गरिवी निवारण र सहकारी मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालयलाई विभाजन गरी भौतिक पूर्वाधार र यातायात मन्त्रालय बनाउने ओलीको योजना छ। यसैगरी उद्योग मन्त्रालयलाई अलग्गै मन्त्रालय बनाउने तर बाणिज्य तथा आपूर्तिलाई एउटै मन्त्रालय बनाउने योजनामा प्रधानमन्त्री ओली छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट