

काठमाडौं- सानिमा जनरल इन्स्योरेन्सले असोज २१ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो।
यस इन्स्योरेन्सले जारी गर्न लागेको कुल ३० लाख कित्तामध्ये ४ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता सेयर कम्पनीका कर्मचारीको लागि छुट्याएको छ। त्यस्तै, ५ प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता म्युचुअल फण्डका लागि छुट्याएको छ। बाँकी २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
यस आइपीओमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिमा बिक्री नभएमा कात्तिक ६ गतेसम्म बिक्री खुला हुनेछ। लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गरेको छ। लगानीकर्ताले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।
यो आइपीओलाई केयर रेटिङ नेपालले मध्यम अवस्था जनाउने केयर एनपीबीबी प्लस’ रेटिङ प्रदान गरेको छ। हाल यस कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ।
आइपीओपछि चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ। निर्जीवन बिमा कम्पनीको न्यूनतम चुक्ता पुँजी १ अर्ब रुपैयाँ हुनुपर्ने प्रावधान छ। सोही प्रावधान अनुसार यसले आइपीओ निष्कासन गर्न लागेको हो।