बिहीबार सेयर बजार सकारात्मक, बजारमा उत्साह आउनुको यस्ता छन् कारण-Sutra News

बिहीबार सेयर बजार सकारात्मक, बजारमा उत्साह आउनुको यस्ता छन् कारण

बिहिबार, १५ असोज २०७७

बिहिबार, १५ असोज २०७७

काठमाडौं- बिहीबार नेप्से सूचकले सकारात्मक बाटो तय गरेको छ। पछिल्ला दिनहरुमा सुस्त बनेको सेयर बजार बिहीबारबाट फेरि तेजी आएको हो। पछिल्लो समय बजारमा सामान्य गिरावट आउनुले बजारमा करेक्सन आएको विज्ञहरूको भनाइ छ। अहिले बैंकमा अधिक तरलता रहेको छ। तरलताले सेयर बजारलाई सिधा साथ दिएको छ।



अहिले वाणिज्य बैंकहरुले बचत खाताको ब्याजदर २ प्रतिशतको हाराहारीमा झारिसकेका छन्। यसबाट बचतकर्ताहरु सेयर बजारतर्फ आकर्षित भएको मान्न सकिन्छ। यसैगरी, सेयर कर्जाको ब्याजदर पनि १० प्रतिशत भन्दा तल झरिसकेको छ। यी दुई पक्षले सेयर बजारलाई निकै उत्साहित बनाउने देखिएको छ। आज सेयर बजारलाई सकारात्मक बनाउने दुई वटा विषय छन्।

पहिलो, सेयर बजारका लगानीकर्ताको नजरमा खासै लोकप्रिय नदेखिएका प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाकार तथा पूर्व अर्थमन्त्री युवराज खतिवडा अमेरिकाको राजदूतमा सिफारिस भएका छन्।जसकारण अब अर्थ मन्त्रालय र सेयर बजारमा खतिवडाको उपस्थिति पातलो हुने अनुमान लगानीकर्ताहरूको छ। दोस्रो कारण, बैंक अफ काठमान्डूको आकर्षक लाभांश घोषणा।

यता माछापुच्छ्रे बैंकले पनि लाभांश पारित गर्न कार्तिक ६ गते साधारण सभा बोलाएको छ। यसले पनि लगानीकर्ताको मनोविज्ञानलाई थप सकारात्मक बनाएको सफल भएको हो।

बैंक अफ काठमाण्डूले सेयर धनीलाई १६ प्रतिशत लाभांश दिने
बैंक अफ काठमान्डूले सेयरधनीहरूको लागि १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७को नाफाबाट १३ प्रतिशत बोनस र करसहित ३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। यसर्थ, बैंकले १ अर्ब ३६ करोड ७६ लाख ९५ हजार ६३६ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ। यस्तै, २५ करोड ६४ लाख ६ हजार ६६२ रुपैयाँ नगद लाभांश बाँड्नेछ। यो लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ।

हाल बैंक अफ काठमाडौंको चुक्तापूँजी ८ अर्ब ५४ करोड ६८ लाख ८७ हजार रुपैयाँ रहेको छ। बोनस वितरणपछि चुक्तापूँजी ९ अर्ब ९१ करोड ४५ लाख ८२ हजार ६ सय ३६ हुनेछ। असार मसान्तसम्म बैंक अफ काठमाडौंले १ अर्ब ४७ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यसको प्रतिसेयर आम्दानी १७ रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ ४४ पैसा छ।

माछापुच्छ्रे बैंकले लाभांश पारित गर्न कार्तिक ६ गते साधारण सभा गर्ने
माछापुच्छ्रे बैंकले १०.४० प्रतिशत लाभांश अनुमोदन गर्न कार्तिक ६ गते वार्षिक साधारण सभाबोलाएको छ। बैंकको २२औं सभाहोटल पोखरा ग्राण्ड, पार्दि, पोखरामाबिहान ११ बजेदेखि सुरु हुनेछ।

सञ्चालक समितिले प्रस्ताव गरेको चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ३.३७ प्रतिशत नगद लाभांश (करसहित) वितरण प्रस्ताव पारित गर्ने एजेण्डा पनि रहेको छ।सभामा बैंकले अन्य उपयुक्त संस्थासँग मर्जर, एक्विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ।

सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको नियुक्ति गर्ने प्रस्ताव पनि रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज २२ गते बुक क्लोज गर्ने भएको छ।

असोज २१ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न तथा सभामा सहभागी हुन पाउनेछन्। कोरोनाका कारण भर्चुअल रुपमा सभामा उपस्थित हुने सेयरधनीलाई मिटिङ आइडी र पासवर्ड उपलब्ध गराइने बैंकले जनाएको छ।

आज (बिहीबार)को नेप्से सूचक यस्तो रह्यो
बिहीबार नेप्से मापन परिसूचक २०.६१ अंकले बढेर १५७१.०४ विन्दुमा आइपुगेर रोकिएको छ। आज सेयर बजारमा १ सय ९३ कम्पनीको २ अर्ब ८० करोड ७७ लाख ८ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

सेयर बजारमा बजारमा आज ९९ लाख ३० हजार ८ सय ३० कित्ता सेयर खरीद बिक्री भएका छ। यस दिन हाइड्रोपावर र म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक बढेका छन्। विशेष गरी बिमा र बैंकिङ समूहमा तेजी आएको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूह ३३२.४१ अंकले बढेको छ। वाणिज्य बैंक समूह पनि १८.८६ अंकले माथि लागेको छ । सप्तकोसी डेभलपमेन्ट बैंकको भाउ सबैभन्दा बढी १० प्रतिशतले बढेको छ ।

यसैगरी, कामना सेवा विकास बैंक, मल्टिपर्पाेज फाइनान्ससहित ७ कम्पनीको भाउ ९५ भन्दा बढीले वृद्धि भएको छ। माउन्टेन हाइड्रोको भाउ सबैभन्दा धेरै ९.८० प्रतिशतले घटेको नेपाल स्टक एक्स चेन्जले जानकारी दिएको छ। सेयर बजारको खरीद बिक्रीमा बैंक अफ काठमाण्डू अग्रस्थान हासिल गरेको छ। यसको १४ करोड ७६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। दोस्रोमा शिखर इन्स्योरेन्स र तेस्रोमा अरुण हाइड्रोपावर परेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट