काठमाडौं– परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले डा गोविन्द केसीलाई अनसन फिर्ता लिन आग्रह गरेका छन् । देश संकटमा परेको यो असामान्य परिस्थितिमा सत्याग्रह र हड्ताल नसुहाउने भन्दै डा केसीलाई अनसन तोड्न उनले आग्रह गरे ।
बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा उनले १८ दिनदेखि चिकित्सा क्षेत्र सुधारको माग राख्दै अनसन बसेका डा केसीलाई अनसन तोड्न आग्रह गरेका हुन् । ‘देश यत्रो संकटमा छ, यो बेलामा एकातिर चिकित्सक र सुरक्षाकर्मीहरू जनतालाई कसरी जोगाउन सकिन्छ भनेर लागिरहनुभएको छ । यो असामान्य अवस्थामा सत्याग्रह हड्ताल सुहाउँदा विषय हो र ? पक्कै पनि होइन,’ मन्त्री ज्ञवालीलले भने, ‘केही विषय छन् भने छलफल गर्छ सकिन्छ । उहाँ र उहाँहरूको साथीहरूलाई आग्रह छ । अहिले अनसन फिर्ता लिएर हामी सबै कोभिड विरुद्धको लडाइँमा जोडियऔं ।’
उनले डा केसीले राख्दै आएका मागहरूमध्ये धेरै माग सम्बोधन भएको र केही माग सम्बोधन हुने क्रममा रहेको बताए । ‘हामीले चिकित्सा ऐन बनायौं । चिकित्सा शिक्षा सम्बन्धी उच्चस्तरीय आयोग बनायौं । आयोगले काम गर्दैछ । त्यसको नियमावली बनेको छ । गत आर्थिक वर्षमा हामीले ७५ प्रतिशत छात्रवृत्ति सम्बन्धी विषय कार्यान्वयनमै आइसकेको छ । महत्वपूर्ण माग सरकारले पूरा गरेको छ ,’ मन्त्री ज्ञवालीले भने ।
उनका अनुसार सातवटै प्रदेशमा सरकारी तवरबाट मेडिकल कलेजहरू खोल्ने विषय पनि सम्बोधन भइसकेको छ । उनले मेडिकल कलेजहरूको नाम लिँदै भने, ‘एक नम्बरमा विपी कोइराला छँदै छ । दुईवटा मेडिकल कलेजहरू निर्माणाधीन छन् । रामराजाप्रसाद सिंहको स्मृतिमा राजविराजमा र वर्दिबासमा मेडिकल कलेज बन्दैछन् । बागमती प्रदेशमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान छँदैछ । न्याम्स पनि छ । गण्डकी प्रदेशमा पनि छ । बुटवलमा पनि बन्दैछ । कर्णालीमा पढाइ सुरु भएको अवस्था छ । र सुदूरपश्चिममा पनि गेटा कलेज निर्माणको अन्तिम चरणमा छ ।’
सम्बोधन हुँदै गरेको मागमा थप दबाब दिइराख्नु नपर्ने मन्त्री ज्ञवालीको तर्क थियो । पिसीआर टेस्टको सबालमा पनि सरकारले १० लाख भन्दा बढीको परीक्षण गरिसकेको र दायरा अझै बढाउने उनले बताए ।
पटक पटक अनसन बस्दै आइरहेका डा केसी पछिल्लो समय २९ भदौमा जुम्लाबाट अनसन सुरु गरेका थिए ।
उनी हाल त्रिवि शिक्षण अस्पताल काठमाडौंमा अनसनरत छन् ।