काठमाडौं–१२ असोजमा इलाम कोरोनामुक्त जिल्ला बन्यो, सुदुर पूर्वको इलाम । ५ हजार ११ जनाको स्वाब परीक्षण गर्दा इलाममा ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंका भनाईमा, गत सोमबार (१२ असोज) संक्रमण भएकाहरू पनि निको भएर घर फर्किएपछि संक्रमण शून्य जिल्ला बनेको हो ।
संक्रमणमुक्त भएकै हो ?
प्रमुख जिल्ला अधिकारी सेडाईं भारतीय सीमा जोडिएका कारण चुनौति धेरै भएपनि व्यवस्थापनमा गरिएको पहलकदमीका कारण जिल्ला संक्रमणमुक्त बनेको दावी गर्छन् ।
इलाम जिल्लाको दक्षिणी सीमाना झापासँग जोडिएको छ । केही समयअघि झापामा समुदायमा कोरोना समुदायस्तरमै संक्रमण फैलिएको आँकलन समेत गरिएको थियो ।
इलामको अर्को चुनौती भारत थियो, भारतसँग जोडिएको प्रवेश नाका हो, इलामको पशुपतिनगर । भारतमा रोजगारी लगायत अन्य कामले गएकाहरु त्यही नाका हुँदै आउने गर्थे ।
‘भारतबाट आउनेलाई नाकामा जाँच गरी क्वारेन्टिनमा राख्ने गर्यौँ र स्वाब परीक्षण पनि गर्यौँ’ प्रजिअ सेडाईं भन्छन्, ‘यसरी भारत र अन्य जिल्लाबाट आउनेलाई समुचित व्यवस्थापन गरिएकाले समुदायमा कोरोना फैलन पाएन ।’
जनस्वास्थ्यको प्रोटोकल, नेपाल सरकारले गरेको निर्णयलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, गृहले गरेको सबै निर्देशन पालना गर्ने र स्थानीय तहको समन्वय र जनचेतना लगायतका कारण संक्रमण शून्य हुन सघाउ पुगेको प्रजिअ सेडाईंले बताए ।
‘स्थानीय तहले वडा–वडामा नयाँ मानिस जति आएका छन् उनीहरुको अनुगमन गरेर निगरानी राख्न समूह नै तयार गरे’ कोरोना नियन्त्रणमा स्थानीय तहको भूमिकाको चर्चा गर्दै सेढाईंले भने, ‘उनीहरुले सबै मान्छेलाई सुरक्षित हौं भन्ने अभियान नै सञ्चालन गरे ।’
सेडाईं अहिले पनि जोखिम न्यूनीकरण गर्न सीमाको प्रवेश बिन्दुमा सुरक्षा व्यवस्था अपनाएको बताउँछन् । दसैं तिहारमा चाडपर्व केन्द्रित सुरक्षा योजना बनाइएको दावी पनि उनले गरे ।
‘हामीसँग ८ सय ५६ बेडको क्वारेन्टिन सुविधा छ । जिल्लामा २० वटा आइसोलेसन बेड छन्’ उनले थपे, ‘लक्षण देखिएकाहरुलाई सुविधा भएको ठाउँमा राख्ने छुट्टै व्यवस्था गरेका छौं ।’
छँदैछ जोखिम
जिल्ला कोरोना संक्रमण शून्य भएपनि स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी भने सन्तुष्ट देखिन्नन् । बरु पहिलेको तुलनामा जोखिम झनै बढ्दै गइरहेको उनीहरूको दाबी छ । संवेदनशीलताको हिसाबले जोखिम रहेको क्षेत्र इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत पहिलेको तुलनामा अहिले झनै संकट आइलागेको बताउँछन् ।
‘सरकारले सबै ठाउँको सवारी र हवाइ यात्रा खोलिदिएको छ । सीमा नाका खुकुलो भइसकेको छ’ बस्नेतले भने, ‘जे भनिएपनि स्वाब परीक्षण हुने सम्भावना पनि छैन । त्यसैले, जोखिम झन् बढेको छ ।’
प्रजिअले स्थानीय निकायको भूमिकाका कारण जिल्ला कोरोना संक्रमणमुक्त भएको दावी गरिरहेका छन् । तर, नगरप्रमुख बस्नेत भने जिल्ला प्रशासनको नेतृत्वसँग सन्तुष्ट छैनन् ।
‘प्रजिअले दावी गर्नु भएको जस्तो अवस्था यहाँ छैन, उहाँले बोल्ने मात्र हो’ उनले भने, ‘पहिले सीमामा यात्रुहरुलाई होल्डिङ गरेर क्वारेन्टिनमा राखी परीक्षण गर्ने गरिन्थ्यो, अहिले त्यो कागजमा मात्र सीमित भएको छ । त्यसैले जोखिम छ ।’
प्रजिअ सेडाईं भने सीमाबाट हुने आवागमन बढेपनि त्यसलाई व्यवस्थापनमा आफूहरू कटिबद्ध रहेको बताउँछन् । उनी भन्छन्, ‘हामी अझै पनि मुक्त भयौं भन्न त सक्दैनौं । तर, आवागमन बढ्दै जाँदा आवस्यकता अनुसार परीक्षण पनि गरेका छौँ ।’
उनको भनाईमा, पछिल्लो समय झापाबाट आउने यात्रुहरुको रेकर्ड र तिनको मोबाइल नम्बर राख्ने काम गरिएको छ । ‘स्याम्पल गर्दा कुनैमा पोजेटिभ आयो भने कन्ट्याक्ट ट्रेसिङ गर्न सजिलो हुने भएकाले यसो गरेका हौँ’ उनी भन्छन्, ‘त्यही कारण जिल्लामा कोरोना समुदायस्तरमा पुग्नबाट रोक्न सकेका छौँ ।’
नगर प्रमुख बस्नेतका भनाईमा चाहिँ भारतबाट खुला सीमाना हुँदै मानिसहरूको आवजतजावत सहजै भइरहेको छ, बाहिरबाट आउनेलाई होल्डिङमा राख्न खोज्दा पनि असहयोग गरिएको छ । यसले गर्दा जोखिम बढेको उनी बताउँछन् ।
‘हाम्रो नगर पालिकामा ३ हजारलाई परीक्षण गर्दा ३ जनामा पोजेटिभ देखिएको थियो, आवश्यक मात्रामा परीक्षण नहुँदा घटबढ के भयो, भन्न सकिने स्थिति छैन’ उनी भन्छन्, सार्वजनिक गाडी चढेर आउनेहरूलाई नियन्त्रण गर्न सकिएको छैन । क्वारेन्टिन पनि स्थगित गर्न बाध्य भयौं ।’
‘संक्रमण शून्य भएको हैन, दायरा नबढाएको’
सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेल जिल्लामा संक्रमण मुक्त भनिहाल्न नहुने बताउँछन् । उनी भन्छन्, ‘सक्रिय केसहरू नदेखिएका मात्र हुन्, इलाम जिल्लावासीहरूको परीक्षण दायरमा बढाउन सक्यो भने संक्रमण धेरै देखिनेछ ।’
भारतसँग खुला सीमाना हुनु, पैदलमार्गबाट आउने बाटो पनि धेरै हुनु, लुकिछिपी प्रवेश गर्नेहरुको सख्या बढनु आदिका कारण जिल्लामा संक्रमणको खतरा झन् बढेको बताउँछन् उनी ।
पौडेलको भनाईमा, इलामसँग सीमा जोडिएको झापामा समुदायस्तरमा कोरोना फैलिएको, त्यसैगरी संक्रमण फैलिएको मोरङ र सुनसरी जस्ता जिल्लाबाट मानिसहरु आएका कारण स्थिति झनै डरमर्दो बन्दैछ ।
उनी भन्छन्, ‘काठमाडौंमा पनि समुदायमा देखिएको छ । इलाम जिल्ला भित्रने र बाहिर जाने क्रम उत्तिकै छ । तेस्रो मुलुकबाट पनि सजिलै आएका छन्, यहाँ पनि समुदायमा फैलिएको छैन भन्न सकिन्न ।’
प्रजिअ सेढाईंको दावी तथ्याङ्कका आधारमा भएको बताउने प्रशासकीय अधिकृत पौडेल क्वारेन्टिनमा बसेका मान्छेको मात्र परीक्षण भएकाले त्यस्तो तथ्याङ्क देखिएको उल्लेख गर्छन् । उनी भन्छन्, ‘तथ्याङ्क एउटा कुरा हो, वास्तविकता त्यस्तो नहुन सक्छ ।’
खुला सीमानाका कारण जोखिम नसकिएको देउमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद दाहाल बताउँछन् । ‘खुला सीमानाले गर्दा जोमिख छ’ उनी भन्छन्, ‘संक्रमणमुक्त जिल्ला भनिएपनि फेरि संक्रमण फैलिन सक्छ ।’
सबैको सहयोगले गर्दा जिल्ला कोरोनामुक्त भएको बताउने प्रजिअ सेडाईंपनि जोखिम भने कायमै रहेको बताउँछन् । भन्छन्, ‘काठमाडौँ अहिले हटस्पट बनेको छ, दसैं मान्न धेरैजना घर आउने भएका कारण जोखिम बढ्न सक्छ ।’