काठमाडौं- कोरोनाबाट निधन हुनेको संख्या पाँच सय नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बिहीबार गरेको प्रेस ब्रिफिङमा मृतकको संख्या पाँच सय एक पुगेको जानकारी दिए। कोरोना संक्रमित हुने संख्याले पनि ८० हजार छुन आँटेको छ।
परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पनि बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउने क्रममा मृतक संख्या पाँच सय नाघेकोमा दुःख व्यक्त गरे। मन्त्रालयका प्रवक्ता गौतम अन्य देशको तुलनामा नेपालमा मृत्युदर निकै कम रहेको बताउँछन्।
‘करिब १ लाख संक्रमित हुँदा १ हजारको मृत्यु भयो भने एक प्रतिशत हुन्छ। नेपालमा कुल संक्रमितमध्ये मृत्युदर ०.७ प्रतिशत मात्र छ। यो निकै हो,’ प्रवक्ता गौतम भन्छन्। उनका अनुसार संक्रमित मध्ये मृत्यु हुनेहरूमा दीर्घरोगी नै बढी रहेका छन्।
३ महिनामा सय पुगेको थियो मृत्यु संख्या
३ जेठमा कोरोनाबाट पहिलो पटक सिन्धुपाल्चोककी सुत्केरी महिलाको मृत्यु भएको थियो। बाह्रबिसे–९ राम्चेकी २९ वर्षीया सुत्केरी महिलालाई ज्वँरो र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि धुलिखेल लैजाने क्रममा मृत्यु भएको थियो। त्यतिबेला कूल संक्रमितको संख्या २ सय ८१ मात्र थियो। लगत्तै दोस्रो व्यक्तिको मृत्यु ४ जेठमा भएको थियो।
एक दिनको अन्तरमा दोस्रो व्यक्तिको मृत्यु भएको थियो। मृत्यु हुने दोस्रो व्यक्ति थिए बाँकेको नरैनापुरका २५ वर्षीय पुरुष। पहिलो र दोस्रो मृत्यु भएको झण्डै ३ महिना पुग्न लाग्दा साउन ३० गतेसम्मको तथ्यांक अनुसार संक्रमणबाट मृत्यु हुनेको संख्या सय पुगेको थियो।
जब साउन ३० मा संक्रमित हुनेहरूको संख्या सय नाघ्यो, त्यतिबेला कुल संक्रमितको संख्या २६ हजार १९ पुगिसकेको थियो। ३० साउनलाई नै हेर्ने हो भने मृत्यु संख्या सतक नाघेको दिन थप तिन जनाको मात्र मृत्यु भएको थियो।
१५ दिन नपुग्दै कट्यो सतक
३० साउनपछि १४ दिनमै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई सय नाघ्यो। १३ भाद्रमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई सय सात पुगेको थियो।
२ सय कटेको ९ दिनमै मृतक संख्या ३ सय नाघ्यो। २२ भदौमा एकैदिन १२ जनाको मृत्यु भएसँगै मृत्यु संख्या ३ सय १ पुगेको थियो। २५ भदौमा, कोभिड–१९ को कुल संक्रमित संख्या ५० हजार ४ सय ६५ पुग्दा मृत्यु संख्या ३ सय १७ पुगेको थियो।
३ असोजमा मृत्यु संख्या ३ कटेको ११ दिनमा ४ सय नाघेको थियो। त्यतिबेला देशभर कोरोनाबाट कुल ४ सय १ संक्रमितको निधन भएको थियो। त्यसपछि ५ सय कट्न पनि धेरै दिन लागेन। तथ्यांक हेर्दा १२ दिनमै ४ सय बाट ५ सय नाघेको छ।
किन बढ्दैछ त मृत्यु संख्या?
मन्त्रालयका प्रवक्ता गौतम भन्छन्, ‘संक्रमित संख्या बढेको अनुपातमा मृत्यु संख्या बढ्छ।’ पछिल्लो समय संक्रमितहरु अत्यधिक बढेका कारण लक्षण देखिएका संक्रमितहरु बढेका जनस्वास्थ्यविद्हरु बताउँछन्। लक्षण बढेसँगै मृत्यु संख्या पनि बढ्ने उनीहरूको दाबी छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक डा.शेरबहादुर पुनका अनुसार पहिलेको तुलनामा संक्रमित संख्या गुणात्मक संख्यामा बढेको हुँदा लक्षण देखिने बिरामीहरु पनि बढेका हुन्। यही कारण मृत्यु हुने संख्यामा पनि तीव्र वृद्धि भएको उनी बताउँछन्।
‘पहिला संक्रमित हुने दर कम थियो। तर, अहिले तीब्र रुपमा धेरैलाई कोरोना संक्रमण भइरहेको छ’ डा.पुन भन्छन्, ‘संक्रमणको अनुपातमा मृत्यु संख्या बढ्नुको कारण यही हो।’ संक्रमति संख्या बढेपछि त्यसको असर दीर्घ रोगी र वृद्धवृद्धालाई भएको उनी बताउँछन्।
जनस्वास्थ्यविद् डा.बाबुराम मरासिनी पनि अन्तर्राष्ट्रिय तुलनामा नेपालमा मृत्यु संख्या कम रहेको बताउँछन्। ‘अन्तर्राष्ट्रिय तुलनामा त मृत्यु संख्या ५ हजार हुनुपर्दथ्यो। ८० हजार संक्रमित पुग्दा यो तुलनात्मक हिसाबले कम हो,’ डा.मरासिनी भन्छन्। अब मृत्यु संख्या घट्न संक्रमण नियन्त्रण गर्नुको विकल्प नरहेको मरासिनी बताउँछन्। ‘हाम्रो सरकारी र प्राइभेट भवनको संरचनाकै कारण पनि कोरोना संक्रमण भइरहेको छ। यो कुरा कसैले ख्यााल गरेको छैन,’ डा.मरासिनी भन्छन्।
उनले संक्रमणबाट पहिलो महिलाको मृत्यु हुँदा नै कोरोना समुदायमा भएको आफूले दाबी गरेको बताए। ‘पहिलो महिलाको मृत्यु भएकै बेलामा कोरोना समुदायमा गयो भन्दा त्यही बेला मलाई घोचपेच गरे। आखिर त्यो त अहिले पुष्टि हुँदैछ,’ उनले भने। व्यापक परीक्षण दायरा बढाएर आइसोलेसनको तयारी नगरी संक्रमण घटाउनुको विकल्प नभएको उनले बताए।