भरतपुर केरूङ्गा घोलको गुरुयोजना निर्माण-Sutra News

भरतपुर केरूङ्गा घोलको गुरुयोजना निर्माण

शुक्रबार, १६ असोज २०७७

शुक्रबार, १६ असोज २०७७

भरतपुर– भरतपुर महानगरपालिकाको मुख्य शहरी क्षेत्र भएर बग्ने केरूङ्गा घोलको गुरुयोजना निर्माण गरिएको छ। झण्डै ३० किमी लामो घोलले गुरुयोजनाअनुसार काम भए नयाँ स्वरुप ग्रहण गर्नेछ।



भरतपुर महानगरपालिकाको गणेशधामबाट सुरु भई जगतपुरस्थित राप्ती नदीमा पुगेर मिसिने केरुङ्गा घोलको गुरुयोजनाको काम सकेर डिपिआर निर्माण भइरहेको प्रदेशसभा सदस्य विजय सुवेदीले बताए। गुरुयोजनाअनुसार निर्माण भए घोलले महानगरको सुन्दरता झनै बढ्ने उनले बताए।

यो आयोजना महानगरका लागि आवश्यक र दूरगामी महत्व राख्ने खालको हुने सांसद सुवेदीले बताए। उनले भने, ‘केरुङ्गा घोलल व्यवस्थित गरियो भने शहरको सुन्दरता बढ्न जान्छ। बर्खामा घोलले डुबानमा पार्ने भएकाले पनि सुरक्षित ढङ्गले सौन्दर्यकरण हुनेछ।’ सांसद सुवेदीले महानगरको बीचबाट बगेको यस घोलको अवस्था काठमाडौंको टुकुचाजस्तो नहोस् भन्नका लागि नयाँ योजना बनाइएको बताए।

उनले बहुवर्षीय योजनाको रुपमा प्रदेश सरकार र महानगरपालिकाको लगानीमा घोललाई व्यवस्थित बनाउने बताए। उनले भने, ‘शहरका विभिन्न ठाउँबाट बग्ने ढललाई निर्मलीकरण गर्दै घोलमा मिसाइने छ। जसबाट जल प्रदूषण समयमा नै नियन्त्रण आउनेछ। घोललाई व्यवस्थित गरेपछि डुङ्गा चलाउने, किनारमा साइकल चलाउने गरेर आन्तरिक र बाह्य पर्यटक घुमफिर गर्न सक्छन्।’

भरतपुर महानगरपालिकाको शहरी विकासको योजनाकार आर्किटेक्ट इञ्जीनियर अस्मिता खनालले शहरीकरणसँगै नदी क्षेत्र अतिक्रमित हुँदै जाने भएकाले पनि उद्यान बनाएर संरक्षण गर्ने योजना बनाइएको बताइन्।

उनले भनिन्, ‘बर्खाको समयमा घोल घरघरमा पस्ने समस्या देखिएकाले पनि घोललाई उद्यान बनाएर व्यवस्थित गर्न आवश्यक छ। यसबाट एकातिर सार्वजनिक सम्पत्तिको संरक्षण हुनेछ भने अर्कोतिर उद्यानहरु बनाएर पर्यटकलाई पनि आकर्षण गर्न सकिन्छ।’

फोहर पानी बग्ने केरूङ्गाको घोलमा होचो भाग भएकाले भरतपुरका विभिन्न क्षेत्रका ढलहरु मिसाउने गरिएको छ। अब फोहर र सफा पानी एकै क्षेत्र तर दुई फरक अवस्थामा बग्ने बनाउने तयारी भएको छ।

ढल मिसावट फोहर पानीका लागि छुट्टै नाला बनाउने र केरूङ्गामा भने सफा पानी बग्ने बनाउने गरी डिपिआर निर्माण भइरहेको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिइन्।

केरूङ्गामा डुङ्गा शयर, दुवैतर्फ उद्यान निर्माण, दुवैतर्फ साइकल लेन, हिँड्ने बाटो, मिनीसप, विभिन्न स्थानमा आकर्षक पुल, हरियाली रहने छ। भरतपुर महानगरका वडा क्रमशः ११, १२, ९, ८, ७, ५, ६, १३, १४, २१, २२, २३, २४ भएर केरूङ्गा बग्ने गरेको छ।

भरतपुर महानगर वडा नं ९ र ११ ले आफ्नो वडासम्म केरूङ्गा ड्रेनको सीमाङ्कनसमेत गरिसकेका छन्। यस आयोजनाले सङ्घीय निर्वाचन क्षेत्र नं २ र ३ साथै प्रदेश निर्वाचनको भने तीनवटा क्षेत्र समेट्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट