काठमाडौं– एक सय वर्षसम्म जीवित रहन सक्यो भने त्यस्तो मानिसलाई भाग्यमानी मानिन्छ। अलिक हाई प्रोफाइल व्यक्ति हो भने त सय वर्ष पुगेको उपलक्ष्यमा विभिन्न कार्यक्रम जन्मदिनको शतवार्षिकी समेत मनाइन्छ।
तर, सिरहामा एकजना यस्ता बृद्ध छन्, जो १ सय १५ पुगिसके। त्यति उमेर भएर के भयो त? उनी अझै पनि राम्रैसँग हिंडडुल गर्न सक्छन्। उनी हुन्, सिरहा नगरपालिका–१२ का बौवालाल सिंह।
जेष्ठ नागरिक दिवसका उपलक्ष्यमा मुक्ति नेपाल (सिरहा) ले बिहीबार (१५ असोज) एक कार्यक्रम आयोजना गरी तिनै बौवालाललाई सम्मान गरेको छ। दोसल्ला ओढाएर सम्मान गरिएको कार्यक्रममा उनलाई पौष्टिक आहार समेत प्रदान गरिएको थियो।
सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले १ सय १५ वर्षीय सिँहका अलावा ७० वर्षीय लक्ष्मण दासलाई सम्मान गरेका हुन्। कार्यक्रममा कणेलले यस्ता दिवसमा मात्र नभई हरेक व्यक्तिले आ–आफ्ना घरका ज्येष्ठ नागरिकलाई सधैँ सम्मान गर्नुपर्नेमा जोड दिएका थिए।
‘नागरिकताका आधारमा पारिवारिक सदस्यहरुले बताए अनुसार उहाँ १ सय १५ वर्ष पुग्नु भएको रहेछ’ संस्थाकी अध्यक्ष श्यामकुमारी साहले भनिन्, ‘त्यति धेरै उमेर भएपनि उहाँ आफै हिँडडुल गर्न र बस्न सक्नु हुँदो रहेछ। कान चाहिँ अलिक कम सुन्नु हुँदो रहेछ।’