काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णयविरूद्ध परेको रिटमाथि सुनुवाइ सुरु भएको छ।
बुधबारदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुरु भएको बहस शुक्रबार पनि सुरु भएको हो। बुधबार बहस गर्ने क्रम नसकिएका आज सुनुवाई गर्ने गरि उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखिएको थियो।
आजको बहसका लागि रिट निवेदका वकिल, सरकारी वकिल र वामदेवका वकिललाई २/२ घण्टा समय छुट्याएको छ।
गौतमका मुद्दामा सुनुवाइका लागि बुधबार धानन्यायाधीशसहितको संवैधानिक इजलास गठन गरिएको थियो। पूर्ण इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन्।
गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेपछि १ असोजमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले उक्त मनोनय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
भट्ट र त्रिपाठीको निवेदनमाथि सुनुवाइपछि ७ असोजमा न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले बामदेवको गौतमको मनोनयन यथास्थितिमा राख्न र थप संवैधानिक जिम्मेवारी नदिन आदेश जारी गरेको थियो।