उद्योग वाणिज्य महासंघको चुनाव मंसिर ११ र १२ मा हुने-Sutra News

उद्योग वाणिज्य महासंघको चुनाव मंसिर ११ र १२ मा हुने

शुक्रबार, १६ असोज २०७७

शुक्रबार, १६ असोज २०७७

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा आगामी मंसिर ११ र १२ गते काठमाडौंमा हुने भएको छ। निर्धारित कार्यक्रमअनुसार गत चैतमा हुनुपर्ने साधारणसभा कोभिड-१९ का कारण तीन पटकसम्म मिति तोकेर स्थगित भएको थियो।



महासंघको बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले वार्षिक साधारणसभा तथा निर्वाचनको मिति तोकेको हो। यसअघि बसेको महासंघको कार्यकारी समितिले महासंघको साधारणसभा तथा निर्वाचनसम्बन्धी सुझाव दिनका लागि ६ सदस्यीय छुट्टै कार्यदल बनाएको थियो। उक्त कार्यदलले महासंघको साधारणसभा श्रव्य दृश्य माध्यमबाट र निर्वाचनका कार्यक्रमहरु काठमाडौंमा गर्नका लागि सिफारिस गरेको थियो।

त्यसपछि बसेको पदाधिकारीको बैठकले मंसिर ११ र १२ लाई साधारणसभा तथा निर्वाचनको मिति सिफारिस गरी नेपाल सरकारबाट समेत अनुमति लिइसकेको अवस्था छ। सरकारबाट अनुमति लिँदा स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पूरा गर्ने र अब उपरान्त कोभिड-१९ का कारण कुनै स्थानीय तहले लकडाउन तथा निषेधाज्ञा गरेमा महासंघका प्रतिनिधिलाई आवातजावतमा सहजीकरण गर्ने समेतको स्वीकृति रहेको छ।

महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन गत चैत २८ र २९ गते तोकिएको थियो। लकडाउनका कारण प्रभावित बनेपछि गत जेठ ७ र ८ र गत साउन २६ र २७ गतेका लागि मिति तय भएको थियो। ती दुबै मिति पनि कोभिडका कारण प्रभावित बनेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट