काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमविरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाई अब बुधबार हुने भएको छ। गत बुधबार हेर्दाहेर्दैमा राखिएको रिटमा शुक्रबार सुनुवाई हुने भनिए पनि नटुङ्गिएपछि पुनः हेर्दाहेर्दैमा राखिएको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए।
गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रियसभा सदस्य मनोनित गरेको विरुद्धमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले सर्वोच्चमा रिट दायर गरेका थिए।
सो रिटमा असोज ७ गते बुधबार प्रारम्भिक सुनुवाई भएको थियो। न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमको सांसद पद हालका लागि यथास्थितिमा राखी संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश गरेको थियो।
बर्दिया १ बाट पराजित गौतम सांसद र मन्त्री बन्न योग्य नरहेको भन्दै दायर रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाले संवैधानिक इलाशमा सुनुवाइ गर्दैछन्।