काठमाडौं- राष्ट्रिय युवा संघले प्रदेश कमिटीबाहेक सबै एकता प्रक्रिया टुंगो लगाएको छ। बुधबार र बिहीबार बसेको केन्द्रीय कार्यालय बैठकले प्रदेशबाहेक सबै कमिटीको एकता टुङ्गाएको संघका संयोजक रामप्रसाद सापकोटाले बताए।
उनका अनुसार युवासंघले ७७ जिल्लाका संयोजक, सहसंयोजक, इञ्चार्ज र सहइञ्चार्ज टुंगो लगाएको छ। सतहत्तर जिल्लामध्ये साविक युवासंघको ४२ र योङ कम्युनिष्ट लिग (वाइसिएल) ३५ जिल्लाको नेतृत्व तथा ४० जिल्ला इञ्चार्ज वाइसिएल र ३७ जिल्ला इञ्चार्ज साविक युवा संघको रहने गरी टुंगो लगाइएको छ।
प्रदेशको पनि चार प्रदेश युवा संघ र तीन प्रदेश वाइसिएलले लिने गरी सहमति भए पनि कसको भागमा कुन भन्ने टुंगो नलगाएको संघका सहसंयोजक रमेश पौडेलले जानकारी दिए। यस्तै ३१ वटा विभागको टुंगोसमेत लगाइएको छ। साविक युवा संघले १५ र साविक वाइसिएलले १५ वटा विभाग लिने सहमति भएको छ।
यस्तै छ महानगरपालिका र ११ वटा उपमहागरपालिकाको संयोजक, सहसंयोजक तथा इञ्चार्ज र सहइञ्चार्ज पनि टुङ्गो लागेको छ। काठमाडौं, पोखरा र चितवनका साविक युवा संघ तथा विराटनगर, वीरगञ्ज र ललितपुर साविक वाइसिएलको नेतृत्व रहेको छ।
यस्तै ११ उपमहागरपालिकामध्ये धरान, जीतपुर सिमरा, घोराही र नेपालगञ्ज साविक युवा संघ र बाँकी सात वटा उपमहानगरपालिकामा वाइसिएलको इञ्चार्ज भएका छन्। सङ्घले सबै जिल्ला कमिटी र मातहतका कमिटीको एकता आगामी कात्तिक महिना र केन्द्रीय तहको एकता यही असोज महिनाभित्र गरिसक्ने संघका सहसंयोजक पौडेलले जानकारी दिए।
यस्तै लेखा र निर्वाचन आयोग साविक युवा संघ तथा अनुशासन आयोग साविक वाइसिएलले पाउने गरी बाँडफाँट गरिएको छ। बैठकले लोकराज आचार्य र सन्तोष मगरलाई केन्द्रीय कमिटीमा मनोनयन गरेको छ। दुई संघठनको एकतापछि बनेको युवा संघमा अहिले ३३५ सदस्यीय केन्द्रीय कमिटी रहेको छ।