धरान- यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा एक कोरोना संक्रमितले स्वस्थ शिशु जन्माएकी छन्। झापा विर्तामोडकी २९ वर्षीया गर्भवतीको शल्यक्रियामार्फत् बिहीबार छोरी जन्माइएको हो।
उनलाई यही असोज १२ गते सङ्क्रमण पुष्टि भएको थियो। बिपी प्रतिष्ठानमा उनलाई असोज १४ गते भर्ना गरिएको शल्यक्रियामा संलग्न डा. मनोजकुमार साहले जानकारी दिए। साहसहित डा. अस्मिता पाठक, एनेस्थेसियाका विभागका डा जगत्प्रसाद, डा सहज पौडेल र नर्स गोमाको टोलीले उनको सफल प्रसूति गराएको थियो।
अहिले आमा र शिशु दुवैको स्वास्थ्यावस्था सामान्य रहेको प्रतिष्ठानका उपकुलपतिका प्रेस संयोजक शिशिर राईले आज जानकारी दिए। एक महिनाअघि पनि प्रतिष्ठानको कोभिड अस्पतालमा सङ्क्रमितले शिशु जन्माएकी थिइन्। ती आमा र शिशुको अवस्था पनि सामान्य रहेको बताइएको छ।