लहान- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन भएमात्र जनताको सङ्घर्षबाट प्राप्त उपलब्धि संस्थागत हुने बताएका छन्। पार्टीको अगुवा कार्यकर्ता भेलालाई आज सप्तरीको बोदे बर्साइनमा सम्बोधन गर्दै अध्यक्ष यादवले तत्काल संविधानमा भएका त्रुटि संशोधन गरी प्राप्त उपलब्धि संस्थागत गर्नुपर्नेमा जोड दिए।
मुलुकका पुराना शक्ति कांग्रेस र कम्युनिष्ट असफल भइसकेको विचार व्यक्त गर्दै उहाँले मधेसमा भएका शक्तिलाई एकीकृत गरी पहाडका उत्पीडित शक्तिलाई समेत समेटेर वैकल्पिक शक्ति निर्माणको अभियानमा आफूहरु जुटेको उनको भनाइ थियो। अध्यक्ष यादवले पार्टी एकता भएर समायोजनको प्रक्रियामा रहेको पनि बताए।
भेलामा पार्टीका नेता तथा प्रदेश नं २ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साह, राष्ट्रियसभा सदस्य शेखर सिंह, प्रदेशसभा सदस्य मनिषकुमार सुमन, विन्देश्वर यादव, नेत्रविक्रम साह तथा अगुवा नेता कार्यकर्ताको सहभागिता थियो।
यसअघि आजै अध्यक्ष यादवले सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ तरही पुगेर दिवङ्गत पूर्वसांसद हरिप्रसाद रायलाई श्रद्धाञ्जलि दिए। विसं २०४८ को निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित राय मधेस आन्दोलनका क्रममा तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टीमा आबद्ध भई मधेस आन्दोलनमा होमिएका थिए। रायको गत आइतबार उपचारका क्रममा निधन भएको थियो।