sutra news logo

आइतवार, आषाढ ६ गते २०७८

पेन्टिङमा बेग्लै पहिचान

पेन्टिङमा बेग्लै पहिचान

images

समर्पण श्री

१७ आश्विन २०७७
  • 1.4K
    SHARES
  • पेन्टिङमा बेग्लै पहिचान
    पेन्टिङ गर्दै हरि प्रसाद शर्मा।

    उमेरले आठौँ दशकको पूर्वाद्धमा छन् उनी । तर उत्तिकै तेज छ, विचार र कल्पनाको फैलावट । त्यही विचार र कल्पनालाई यथार्थको क्यानभासमा उनी फिजाउँछन् । र, उतार्छन्, मानवीय जीवन सहितको दुर्लभ कथा ।

    ती कथा चित्रकथा हुन् । जसले किंवदन्ती बाँचेको इतिहासलाई ब्युँताउने प्रयत्न गरेका छन् । कला पारखीहरूको दाबी छ, उनका चित्रहरू आफैँमा कालजयी छन् । संस्कृतिवद् सत्यमोहन जोशी उनका कलालाई प्रशंसा गर्दै भन्छन्, ‘कलाकार हरिप्रसाद शर्माको कला भावना र कल्पनाशीलता दर्शनीय, प्रशंसनीय छ ।’

    अघिल्लो (२०७६) सालको भदौताका दिन बबरमहलस्थित आर्ट काउन्सिलमा चित्रकार हरिप्रसाद शर्माको एकल चित्रकला प्रदर्शनी भएको थियो । प्रदर्शनीको क्रममा निकै चर्चामा आएको थियो, कलाकार अरनिकोको दुर्लभ चित्र ।

    प्राचीन कालमा नेपालको वास्तुकलाबाट प्रभावित भएर चीनका एक बादशाहले एक सय कालिगड मगाएका थिए । त्यहीबेला अरनिको नामले प्रसिद्धी पाएका १७ वर्षे युवक बलबाहु ८० जना कालिगडको नेतृत्व गर्दै चीन गएका थिए । उनै बलबाहुलाई विदाइ गर्दाको दुर्लभ क्षणलाई हरिप्रसाद शर्माको क्यानभासमा जीवन्त उतारिएको छ । 

    प्रोफेसर अभि सुवेदी भन्छन्, ‘यस्तो गहन र दुर्लभ दृश्यको चित्र कसैले बनाएको देखिन्न । न उहाँको गुरुले न समकालीनले । यसलाई उहाँको सबैभन्दा प्रसिद्ध चित्र मान्छु म ।’

    अघिल्लो सालको प्रदर्शनीमा राजा अशोकाको लुम्बिनी भ्रमण, मल्लकालीन समयका राजाहरूको जीवनशैली, पृथ्वीनारायण शाहले थालेका नेपाल एकीकरणको घटना, जंगबहादुर राणाको ऐतिहासिक क्षण कैद गरिएका यस्ता थुप्रै चित्रहरूले कलाप्रेमीहरूको मन तानेको थियो ।  

    नेवारी संस्कृति, जीवनशैली र इतिहास शर्माका चित्रका खास खुराक हुन् । शर्माका कलाका प्रशंसक समेत रहेका नेकपाका नेता (जो सिनेमा, साहित्य र कलामा विशेष रुचि राख्छन्) रघुजी पन्त उनका चित्र राष्ट्रका लागि बहुमूल्य उपहार रहेको बताउँछन् । शर्माको कौशलतामाथि खुसी प्रकट गर्दै पन्त भन्छन्, ‘म उहाँको चित्रबाट प्रभावित छु । नेवारी संस्कृति, जीवनशैली र इतिहास सम्बन्धी चित्र नेपालका बहुमूल्य उपहारसमेत हुन् ।’

    गुरु कालिदास श्रेष्ठ पनि दंग थिए, हरिप्रसादका कौशलता देखेर । शर्माका चित्रमाथि पहिलो प्रदर्शनीमा प्रशंसा गर्दै लेखेको कुरा प्रोफेसर सुवेदी उद्धृत गर्छन्, ‘उहाँको चित्रमा नेवारी जीवनको गतिशीलता, सांस्कृतिक परिवेश र कला कौशलता देखेर अत्यन्त प्रभावित भएँ ।’

    प्रोफेसर सुवेदीलाई लाग्छ, शर्मा वास्तुकलाजन्य चित्रमा अत्यन्तै कुशल छन् । वास्तुकलाजन्य  परिवेशमा मानव परिवेश बनाउन सक्नु शर्माको यस्तो खुबी हो, जसमा उनी सहरी परिवेश बनाउँछन् र मानव अटाउँछन् । उनी भन्छन्, ‘उहाँको चित्रमा हराएका सहर, जीवन, गल्ली र भवनहरू भेटिन्छन् । यसको कल्पना उहाँ अहिले बाँचेका भवनहरूको आधारमा गर्नुहुन्छ । पहिरनबाट गर्नुहुन्छ, त्यसलाई जीवन्त बनाएर हामीलाई पहिलाको समयमा फर्काउनुहुन्छ । यस्तो कसैले सक्दैन ।’

    community life Painting by Hari Prasad1.jpg

    नेवारी संस्कृतिले जुराएको बाटो

    हरिप्रसादको बाल्यकाल काठमाडौँको लगनटोलमा बित्यो, जहाँ नेवारी समुदायको वर्चस्व थियो । आफू पण्डितको छोरा, साथी–संगती भने सबै नेवार । सानैमा उनको मस्तिष्कमा नेवारी जीवनशैली र संस्कृतिको छाप पर्यो । हरिप्रसाद नेवारी पनि बोल्थे । प्रत्येक नेवारी जात्रामा उनको विशेष चाख हुन्थ्यो । जात्रा हरिप्रसादकै घरछेऊ भएर जान्थे । र, उनी त्यसमा सहभागी हुन्थे ।

    छाप त नेवारी पर्यो, तर चित्रमा भने खै कुन्नी ! नजानिँदो ढंगले मन गयो हरिप्रसादको । परिवारमा चित्र कोर्ने न बाजे थिए, न पिता । बरु, हरिप्रसादले चित्र बनाउँदै गरेको देखेपछि बाजेले एकदिन भनेछन्, ‘बाबु, चित्र त सानो जातका मान्छेले बनाउँछन् । तिमीले बनाउने हैन । यो गरेर खान पनि पाइँदैन । वेद पढ्ने, रुद्री पढ्ने हो । मलाई मन परेन यो काम ।’

    तर, दृढ हरिप्रसाद न जात मान्थे, न हजुरबाको अनुरोध । उनलाई त केवल मन बुझाउन चित्र कोर्नु थियो ।

    पण्डित खलक हुनाले उनका बुबा राणा खानदानसँग नजिक थिए । बुबा राणाको दरबारमा जान्थे र बुबाको हात समाउँदै उनी पनि बेला बेलामा त्यतातिर लम्कन्थे । उनको सम्झनामा २००६ सालतिर हुनुपर्छ, त्यसरी जाँदा हरिप्रसादले बनाएको नागको चित्र राणाहरूलाई देखाउँदै बुबाले भन्थे, ‘यो मेरो छोराले बनाएको !’

    राणाहरू खुसी हुँदै उनको चित्र किनिदिन्थे । बाल्यकालमा पहिलो पटक चित्रबाट हरिप्रसादले १५ पैसा कमाएका थिए । जीवनको पहिलो कमाइ सम्झँदा उनी अझै पनि फुरुङ्ग हुन्छन् ।

    सुरु–सुरुमा चित्र बनाउँदा उनी राजा त्रिभुवन, गान्धी र फिल्म स्टारहरुको बनाउँथे । हौस्याउँदै अरु साथीले भन्थे, ‘कति राम्रो चित्र बनाउँछन् हरि बाजे ।’

    विस्तारै नेवारी संस्कृतिको प्रभाव बढ्दै गएपछि उनले संस्कृतिमाथि चित्रहरू कोर्न थाले । आमा वाणा कहाँ जाँदा उनी आमासँगै जान्थे । वाणाकहाँ पुग्दा आमाको ध्यान गहनातर्फ हुन्थ्यो भने हरिप्रसादको ध्यान वाणाको पहिरनतर्फ । ‘वाणाले के–के लगाएको छ, कसरी लगाएको छ ? भन्नेतिर मेरो आँखा पुग्थ्यो,’ उनी सम्झन्छन्, ‘हाँसेर कुरा गर्ने त्यो वाणाको क्रियाकलाप म हुबहु उतार्थें ।’

    राम्रो चित्र बनाउन लागेपछि छोरालाई सिकाउन पाए हुन्थ्यो भन्ने बुबाको चाहना भयो । त्यतिबेला ११ वर्षका हरिप्रसादलाई चित्रकार जीवरत्न शाक्यकहाँ सुम्पँदै  बुबाले भने, ‘ ल गुरु, यो हामीले भनेको पनि मान्दैन, खाली चित्र मात्र बनाउँछ । यसलाई तपाईंले सिकाउनुपर्यो ।’

    गुरु जीवरत्नले हरिप्रसादलाई सिकाउने निधो गरे । त्यसपछि उनी गुरुसँग चित्रकला सिक्न थाले । गुरुले घरका टुँडालहरुको चित्र बनाएर ल्याउन अह्राउँथे । उनी मन लागेर कोर्ने गर्थे चित्र । उनी सम्झन्छन्, ‘गुरुबाट मैले धेरै कुरा जानें, त्यसबेला नयाँ उत्साह पैदा भयो ।’

    community life Painting by Hari Prasad2.jpg

    बा बितेपछिका कठिन बाटा

    बा थिए साथीजस्ता, हरेक कुरामा हौसला दिने । छोराको रुचिमाथि प्रेम गर्ने । तिनै बा एकदिन हरिप्रसादबाट छुटे । अर्थात् अचानक बा बिते । बा बित्दाको पीडा सानो थिएन हरिप्रसादलाई । त्यही घाउ आलो हुन नपाउँदै अर्को बज्रपात पर्यो, हजुरबाको निधन । बुबा बितेको वर्ष दिन नपुग्दै हजुरबुबा पनि बिते । ‘हुन त म दुःखमै जन्मिएको मान्छे । त्यही दुःखमा बुबाले छाडेर जाँदा धेरै गाह्रो भयो,’ हरिप्रसाद सम्झन्छन् ।

    ११ वर्षमात्रै पुगेका कलिला उनी आमाको अवस्था देखेर चिन्तित हुन्थे । ‘आमाले राणाजीहरुकोमा बत्ती काढेर आएको पैसाले घर चलाउनुपर्दथ्यो, त्यसबाहेक घरमा कुनै आयस्ता थिएन’ उनी सुनाउँछन्, ‘त्यो बेला निकै कमजोर अवस्था थियो ।’  

    एकदिन आमाले हरिप्रसादलाई राणाको दरवारमा लगिन् । र, काम लगाइदिन अनुरोध गरिन् । पहिलो पटक उनले पूजाकोठामा काम पाए । त्यतिबेला उनको उमेर १३ वर्षको थियो ।

    अनेकौं अभाव र दुःख आइपर्दा पनि हरिप्रसादको हातबाट कुची र रङ कहिल्यै छुटेन । उनको बाल मस्तिष्कले एउटा कुरा कल्पन्थ्यो, ‘यही कुचीले मेरो दुःखान्त जीवनको भविष्य कोर्नेछ ।’

    जागिरको सिलसिला राणाको दरबारबाट सुरु भयो । त्यसपछि संग्रहालयमा मासिक ८० रुपैयाँको काम पनि सुरु गरे हरिप्रसादले । २०१८ देखि सुरु गरेको जागिर ०२२ सम्म खाए । त्यसपछि शाही नेपाल वायुसेवा निगममा मासिक १ सय ७५ डलरमा काम गर्न थाले । त्यहाँ उनले २७ वर्ष बिताए । उनी भन्छन्, ‘यही क्रममा मेरो आर्थिक अवस्था सुध्रियो, कमाइ पनि भयो ।’  

    कुचीबाट टाढा बनाउने त्यो घटना

    हरिप्रसादलाई त्यो घटना सम्झँदा अहिले पनि बेचैनी हुन्छ, जुन घटनाले उनलाई केही वर्षहहरू कुचीबाट अलग्याएको थियो । मन बिथोलिदिएको थियो । हुन त त्यसअघि पनि हरिप्रसादका चित्रहरू गायब नपारिएका हैनन् । तर, त्यो क्षणले उनको उत्साहलाई मारिदिएको थियो ।

    घटना बिसं २०३० तिरको थियो । नटवरलाल नामका एक जना व्यक्ति थिए । हरिप्रसादको भाषामा ‘ठग’ । नटवरलाल हरिप्रसाद नभएको मौका छोपेर उनको घरमा पुगेछन् । हरिप्रसादको श्रीमतीलाई भेटेर उनले भनेछन्, ‘मैले ग्यालरी खोल्दैछु । हरि सरले मलाई पेन्टिङ लिएर जानु भन्नुभएको छ ।’

     ‘हो कि हैन’ भनेर ‘कन्फर्म’ गर्न अहिलेजस्तो मोबाइल र टेलिफोनको जमाना थिएन । श्रीमतीमार्फत् नटवरलालले ११–१२ वटा पेन्टिङ लिएर गएछन् । हरिप्रसाद घर आएर हेर्छन् त आफ्ना दुःखले आर्जेका कुनै पनि पेन्टिङ छैनन् । उनले झस्कँदै श्रीमतीलाई सोधेछन् । ‘तपाईंले जसलाई लैजानु भन्नु भएको थियो, तिनै मान्छे आएर लिएर गए,’ नटवरलालको नाम लिँदै श्रीमतीले भने पछि उनले कुरा बुझी हाले, उसले ठगेर पेन्टिङ कम्ल्याएछ ।

    हरिप्रसाद छाँगाबाट खसेजस्तै भए । तत्काल पिछ्या गर्दै गए । तर, कतै भेटेनन् । पछि थाहा पाए, नटवरलालले उनलाई मात्र हैन, धेरैलाई ठगिसकेका रहेछन् ।

    यो घटनाले हरिप्रसादलाई ठूलो आघात पुर्यायो । ‘वर्षौं मेहेनत गरेर बनाएको पेन्टिङ त्यसरी गायब बनाएपछि ठूलो पीडा भयो, निराश बनायो’ उनी सुनाउँछन्,  ‘अनि मैले लामो समय पेन्टिङ गरिनँ ।’ 

    जब छोराले झक्झकाए...

    हरिप्रसादका छोरा छन् विष्णुप्रसाद शर्मा । उनी अर्थशास्त्रका प्राध्यापक हुन् । हरिप्रसादलाई लाग्छ, यदि छोराले नझक्झ्याएको भए धेरै कुरा त्यत्तिकै छाडिन सक्थे ।

    ०५२ मा हरिप्रसादको जीवन–संगिनी बितिन् । त्यसपछि हरिप्रसाद झनै शोकग्रस्त भए । लामो समय शोकमा गुज्रिएपछि एकदिन उनले छोरा विष्णुलाई भने, ‘बाबु मलाई शान्त हुने खालको कोठा बनाइदे । आत्मशान्ति हुने खालको चित्र बनाउँछु ।’

    Father and son.jpgबुबाको त्यो अनुरोध छोरा विष्णुलाई अनौठो लाग्यो । त्यसलगत्तै बुबाले बनाएका केही पेन्टिङ देखेपछि विष्णु चकित भए ।

    ‘२०३० यता बुबाले चित्र बनाएको थाहा थिएन । अब बनाउनु होलाजस्तो पनि लागेको थिएन, आमा बितेपछि अचानक उहाँले सुरु गर्ने निर्णय गर्नुभयो,’ छोरा विष्णु भन्छन्, ‘०५२ सालपछि बुबाले भित्तामा जुन चित्रहरू बनाउनुभयो, बुबासँग सीप, क्षमता र लगनशीलता देखेपछि लाग्यो, उहाँसँग यत्रो सीप छ । यसलाई त्यसै खेर जान दिनु हुँदैन ।’

    त्यसपछि छोरा विष्णुले सोचे, अब बुबालाई झक्झकाउनुपर्छ । एकदिन उनले भने, ‘बुबा तपाईंसंग सीप–क्षमता छ । गएको ३० वर्षमा काठमाडौँको ‘कल्चर’ मा यत्रो परिवर्तन आयो । पुराना घर थिए, अब नयाँ बने । तिनको अभिलेख हुने भएन । पछिल्लो पुस्ताले हेर्नै नपाउने भयो । तपाईंले यसमा काम गर्न सक्नुहुन्छ । म तपाईंलाई सहयोग गर्छु ।’

    हरिप्रसाद राजी भए । प्राध्यापन पेशा भए पनि विष्णुले धेरै समय बुबाकै रुचि अनुसारका काममा सघाउनका लागि दिए ।  ‘पुराना घर, गल्ली गयौँ । त्यहाँको जनजीवनको फोटो खिच्यौँ, पढ्यौं । हामी कहिले खेतमा किसानहरू खर्पन लिएर हिँडेका तस्वीर लिन्थ्यौँ, कहिले कहाँ जान्थ्यौँ’  विष्णु भन्छन्, ‘अध्ययन र भ्रमणपछि त्यसलाई नोटमा उतार्यौँ ।’

    यसरी बाबु–छोराले लोप भएका जनजीवनमाथि अध्ययन गरे । विष्णु सामग्री जुटाउँथे, त्यसमा ‘भिजन’ दिन्थे । हरिप्रसाद काम गर्थे । प्रदर्शनीमा पेन्टिङको ‘न्यारेटिभ’ लेख्ने काम पनि विष्णु नै गर्थे । यसरी उनीहरूको प्रयासले सफलता पनि हासिल गर्दै गयो ।

    उमेर बढ्दै जाँदा मनमा अनेक कुराहरू खेल्छन् नै । हरिप्रसाद कुनै बेला दुःखमा अतालिन्छन् । त्यतिबेला उनलाई छोरा विष्णुले साथीले झैँ सम्झाउँछन् । उत्साह भरिदिन्छन् । हरिप्रसाद खुसीभावमा भन्छन्, ‘छोराको साथ छ । र, त म अझै बलियो छु । मैले रङ र कुचीसँग हाँसिहाँसी खेल्न पाएको छु ।’


    प्रकाशित :आश्विन १७, २०७७ शनिवार - १८:०१:०१

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.