पहिलोपटक बिजुली बल्दा नाचगान र भोजभतेर, चाहेको बेला बत्ती बल्दा जलुकेवासी दंग-Sutra News

पहिलोपटक बिजुली बल्दा नाचगान र भोजभतेर, चाहेको बेला बत्ती बल्दा जलुकेवासी दंग

आइतबार, १८ असोज २०७७

आइतबार, १८ असोज २०७७

टिस्टुङ- मकवानपुरको कैलाश गाउँपालिकास्थित जलुकेमा पहिलोपटक बिजुली बलेको छ। कैलाशको वडा नं १ मा पर्ने जलुकेमा बिजुली पुगेपछि स्थानीयवासी अभूतपूर्व खुसी भएका छन्।



खुसीले उनीहरुलाई अहिले नै ‘दशैँ’ भएको छ। यही उपलक्ष्यमा उनीहरुले नाचगान र भोजसमेत गरेका छन्। घरघरमा बिजुली बलेपछि गाउँ नै उज्यालो भएको छ। प्याट्ट स्वीच थिचेपछि आफूले चाहेको बेला बत्ती बल्दा जलुकेवासी दंग छन्।

गाउँमा राष्ट्रिय प्रसारण लाइनबाट बिजुली बाल्न जलुकेवासीले अनवरत प्रयास गर्दै आएका थिए। पछिल्लोपटक विनाशकारी भूकम्प गएको वर्षदेखि नै उनीहरुले पहल थालेका थिए।

नेपाल विद्युत् प्राधिकरण पालुङ वितरण केन्द्रको बिजुली छिमेकी गाउँसम्म पुगेपछि उनीहरुमा पनि बिजुलीको उज्यालोमा बस्ने इच्छा जागेको थियो। यो प्रयास पाँच वर्षपछि सफल भएको छ।

जलुकेका धेरैले दियालोकै उज्यालोमा जीवन चलाए। मट्टितेल राखेर टुकी बाल्दा उनीहरुलाई नयाँ प्रविधि भित्रिएजस्तो लाग्थ्यो। मैनबत्ती बालेर खर्चले पुग्दैनथ्यो। पछिल्लो समय कतिपयले ब्याट्रीबाट भान्सा र सुत्ने ठाउँ उज्यालो पार्थे। सोलार प्रविधिबाट बत्ती बाल्नेहरुले दिउँसो घाम लागे राति उज्यालो पाउँथे। आज यी सबै इतिहास भएको स्थानीय वाङ्गेल लामाले बताए।

अहिले जलुकेको ५५ घरमा बिजुली बलेको छ। उनीहरुले बिजुली बाल्न गाउँबाटै रु दुई लाख ७५ हजार उठाएका थिए। श्रमदान पनि उत्तिकै गरे। जम्माजम्मी रु १२ लाखको लागतमा गाउँमा बिजुली पुगेको वडाध्यक्ष पेमा लामाको भनाइ छ।

जलुकेकी नीरमाया सिञ्जाली मगर अहिले ५२ वर्षकी भइन्। अहिलेसम्म हर्षले सायदै उहाँको आँसु खसेको थियो। घरमा बिजुली बल्दा हर्षले आँसु खसेको उनले पत्तै पाइनन्। पहिलोपटक गाउँ नै झिलिमिली हुँदा गाउँका सबैको मुहार हँसिलो भएको छ। मोबाइल चार्ज गर्न पनि अर्को गाउँ जानुपर्ने बाध्यता अब हटेको उनले बताइन्।

जलुकेमा बिजुली पुगे पनि वडाकै अन्य धेरै ठाउँ अझै अन्धकार छ। बिजुली पुगेको छैन। वडाको खोलाखर्क, फूलढुङ्गा, नौलेटोललगायत टोलमा अझै बिजुली नपुगेको वडाध्यक्ष लामाले बताए। जलुकेमा बिजुली पुगेपछि अब क्रमशः छिमेकी गाउँहरुमा पनि बिजुली पु¥याउने वडाको लक्ष्य छ।

छिमेकी थाहा नगरपालिका बिजुलीले झलमल्ल भए पनि कैलाश गाउँपालिकाको धेरै ठाउँमा अझै बिजुली पुगेको छैन। गाउँपालिकाले बाटो (सडक) र बिजुलीलाई प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष टङ्क मोक्तानले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट