बागलुङ बजारको अव्यवस्थित तार र पोल हटाउन सुरु-Sutra News

बागलुङ बजारको अव्यवस्थित तार र पोल हटाउन सुरु

आइतबार, १८ असोज २०७७

आइतबार, १८ असोज २०७७

गलकोट- बागलुङ बजारमा लामो समयदेखि जीर्ण अवस्थामा रहेका विद्युत् पोल र तारका कारण कुरुप देखिएका हटाउन थालिएको छ। बागलुङ नगरपालिकाले नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकमको सहकार्यमा बागलुङ बजारको सौन्दर्यकरणका लागि पुराना तार र विद्युत्का पोल हटाउने अभियान सुरु गरिएको छ।



नगरपालिकाले गत वर्ष टेलिकम, विद्युत् प्राधिकरण, इन्टरनेट सेवाप्रदायक कम्पनीलाई अव्यवस्थित तार र पोल हटाउन निर्देशन दिए पनि पटक–पटक अवज्ञा भएको भन्दै नगरपालिकाले आजबाट शिवधारा चोकबाट तार र पोल हटाउने अभियान सुरु गरेको छ ।

एक वर्षको अवधिमा विद्युत् प्राधिकरणले बागलुङ बजारको १८० थान नयाँ विद्युत्का पोल राखेर विद्युत्लाई नाङ्गो तारमुक्त गरिसकेको छ। नाङ्गो तार हटाएका कारण बागलुङ बजारमा विद्युतीय दुर्घटनाको जोखिम पनि कम भएको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिवनारायण गोशालीले जानकारी दिए।

‘निकै चुनौतीका बाबजुद हामीले नाङ्गो तार हटाएर विद्युत्का पोलसमेत व्यवस्थापन गरेका छौँ’, गोशालीले भने, ‘तर विद्युत्का तार नयाँ पोलमा सारे पनि इन्टरनेट र केबल तारले गर्दा पुराना विद्युतीय पोल हटाउन नपाएका कारण समस्या भएको थियो, आजबाट नगरपालिकाले तार काट्ने र पोल हटाउने कार्य थालिएको छ।’

बागलुङ बजारमा नेपाल टेलिकमले समेत तामाको अव्यवस्थित तार हटाउन सुरु गरिसकेको छ। टेलिकमले एक वर्षअघि नै तामाको अव्यवस्थित तार प्रतिस्थापन गर्ने उद्देश्यले फाइवरबाट सेवा प्रदान गरिरहेको छ।

टेलिकमले तामाको तार हटाउने कार्यलाई तीव्रता दिए पनि इन्टरनेट तथा केबुल सेवा प्रदायकले भने पुराना विद्युतीय पोलबाट नयाँ विद्युतीय पोलमा तार सार्न नसक्दा समस्या भएको छ। बजार क्षेत्रको सबै अव्यवस्थित तार र पोल तीन महिनाभित्र हटाइने गरी आजबाट शिवधारा चोकबाट अभियानको शुभारम्भ गरिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए।

विद्युत् प्राधिकरणले नयाँ पोल राखेपछि टेलिकमले नयाँ फाइवर तारसमेत नयाँ पोलमा राखे पनि इन्टरनेट र केबलको तार अझै पुरानै पोलमा छन्। यसलाई आजदेखि विद्युत् प्राधिकरणले पुराना पोल हटाउने र टेलिकमले तार काट्ने अभियान थालिएको नगरपालिकाका इञ्जीनियर गौरव शर्माले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट