बढ्दो कोरोना संक्रमणले सर्वोच्चदेखि नेकपा बैठकसम्म प्रभावित-Sutra News

बढ्दो कोरोना संक्रमणले सर्वोच्चदेखि नेकपा बैठकसम्म प्रभावित

आइतबार, १८ असोज २०७७

आइतबार, १८ असोज २०७७

काठमाडौं- बढ्दो कोरोना संक्रमणका कारण सर्वोच्च अदालतको कामकाजदेखि सत्तारुढ र प्रमुख प्रतिपक्षी दलसम्मको बैठक प्रभावित भएको छ। सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीमा संक्रमण देखिएपछि अधिकांश न्यायाधीशको इजलास स्थगित गरिएका छन्।



न्यायाधीश भण्डारीको स्वाब परीक्षण गर्दा पोजिटिभ देखिएपछि अधिकांश न्यायाधीश होम क्वारेण्टिनमा बस्ने स्थिति सिर्जना भएकाले न्यायाधीश मनोजकुमार शर्माको एकल इजलाश मात्र सुचारु हुने भएको छ।

यसले बुधबार हुने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमको नियुक्ति उपर परेको रिटको सुनुवाई पनि प्रभावित हुने भएको छ।

त्यस्तै आफ्ना चार केन्द्रीय सदस्यसहित धेरै नेता कार्यकर्तालाई कोरोना संक्रमण भएपछि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले केन्द्रीय कार्यालय पाँच दिनका लागि बन्द गरेको छ। सोमबार बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक पनि २४ असोजसम्मलाई स्थगित गरेको छ।

कोरोना जोखिम न्यूनिकरणका लागि भन्दै कांग्रेसले केन्द्रीय सदस्यहरु, पदाधिकारी, कार्यालयका कर्मचारी र नेताका सुरक्षाकर्मीको १५ असोजमा स्वाब संकलन गरेको थियो।

केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगन थापा, आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ र कल्पना चौधरीको रिपोर्ट पोजेटिभ आएको छ। उत्ता प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय टीमका सदस्यलाई कोरोना भाइरस संक्रमण देखिएपछि नेकपाको सचिवालको आजको बैठक स्थगित भएको छ।

शनिबारका लागि तय भएको बैठक आइतबारका लागि सारिएको थियो। तर, आइतबार स्थगित भएको बैठक कहिलो बस्छ भन्ने कुनै टुंगो छैन।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, स्वकीय सचिव इन्द्र भण्डारी र प्रधानन्त्री निवासको सुरक्षामा खटिएका ६७ जना सुरक्षाकर्मीमा कोरोना शनिबार कोरोना पुष्टि भएको थियो।

प्रधानमन्त्री र उनको सुरक्षाका लागि पहिलो घेरमा खटिने सुरक्षाकर्मीको भने रिपोर्ट नेगेटिभ आएको बताइएको छ। सचिवालय टीमका सदस्य र सुरक्षाकर्मीमा कोरोना देखिएपछि प्रधानमन्त्री ओलीले बाहिरी भेटघाट बन्द गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट