बुटवललाई नै स्थायी राजधानी बनाउन नेकपाको आग्रह-Sutra News

बुटवललाई नै स्थायी राजधानी बनाउन नेकपाको आग्रह

आइतबार, १८ असोज २०७७

आइतबार, १८ असोज २०७७

बुटवल- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी रुपन्देहीले अस्थायी सदरमुकामलाई स्थायी राजधानीका रुपमा अगाडि बढाउन आग्रह गरेको छ। पार्टीका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी र सचिव नारायणबहादुर जिसीले आज विज्ञप्ति जारी गर्दै पार्टी पङ्क्ति, जनमत र नागरिक आवाजलाई सम्मान गर्न अनुरोध गरे।



संविधानले प्रदेश राजधानी तोक्दा प्रशासनिक भूगोल र भौतिक पूर्वाधारको विकासलाई ध्यान दिनुपर्ने विषय निर्दिष्ट गरेको उल्लेख गर्दै विज्ञप्तिमा प्रदेश सरकारले स्थायी राजधानीका सन्दर्भमा गरेको निर्णय संविधानको भावनालाई आत्मसात् नगरेको जनाइएको छ। प्रदेश सरकारले राजधानी बुटवलबाट देउखुरी सार्ने प्रस्ताव प्रदेशसभामा पेस गरेको  छ।

विगत निर्वाचनमा जनतासँग गरिएको वाचा स्मरण गर्न आग्रह गर्दै विज्ञप्तिमा कोरोना महामारीको अवस्थामा सरकारले पेस गरेको यो प्रस्ताव औचित्यपूर्ण नभएको उल्लेख छ। रुपन्देहीबासी र यहाँका सङ्घसंस्थाले प्रदेश सरकार र विभिन्न अङ्गलाई स्थापित गर्ने सम्बन्धमा गरेको योगदानप्रति सम्मान गर्न पनि प्रदेश सरकारलाई आग्रह गरिएको छ। यसअघि निषेधाज्ञा तोडर यहाँका विभिन्न व्यावसायिक सङ्घसंस्थाले प्रदर्शन गरेका थिए। रुपन्देहीको बुटवलमा यही असोज २१ गतेसम्म विभिन्न स्थानमा निषेधाज्ञा जारी भएको थियो। प्रदेशसभामा स्थायी राजधानीबारे सोमबार छलफल हुने कार्यक्रम छ। 

Rupandehi nekapa1.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट