दमौली- तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपि कोइराला श्वासप्रश्वास उपचार केन्द्रको सेवा पुनःसुचारु भएको छ। उपचार केन्द्रका प्रयोगशालाका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि यही असोज १५ गतेदेखि सेवा बन्द गरिएको थियो।
कन्ट्रयाक्ट ट्रेसिङ गरिएका ५० जनाको पिसिआर रिपोर्ट आएसँगै उपचार केन्द्रले आइतबारदेखि सम्पूर्ण सेवा सुचारु गरेको केन्द्रका कार्यकारी निर्देशक डा.रामकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार कन्ट्रयाक्ट ट्रेसिङबाट उपचार केन्द्रका थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। केन्द्रका ४२ र अन्य ८ गरी ५० जनाको स्वाब परीक्षणका लागि पठाइएकामा बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको छ।
‘कोरोना संक्रमण भएकालाई यसै केन्द्रको आइसोलेशनमा राखेर उपचार सुरु गरेका छौ, बाँकीको रिपोर्ट नेगेटिभ आएकाले सम्पूर्ण सेवा सुचारु गरिएको छ,’ कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘उपचार केन्द्रलाई पूर्ण सुरक्षित बनाएर सेवा शुरु गरेका छौ।’
कन्ट्रयाक्ट ट्रेसिङबाट गरिएको स्वाब परीक्षणमा केन्द्रका चिकित्सिक, अनमि, सुरक्षागार्ड, लेखा र प्रशासन शाखाका कर्मचारीमा कोरोना पुष्टि भएको थियो।