तीन महिनामा समातिए १ सय ६३ फरार प्रतिवादी-Sutra News

तीन महिनामा समातिए १ सय ६३ फरार प्रतिवादी

सोमबार, १९ असोज २०७७

सोमबार, १९ असोज २०७७

दमौली- तनहुँको देवघाट गाउँपालिका–२ का ६१ वर्षीय खड्कबहादुर दमैलाई जिल्ला अदालत तनहुँले विसं २०४९ मङ्सिर ८ गते दुई वर्ष ८ महिना २२ दिन कैदको फैसला सुनायो।



जिउ मास्ने उद्योगमा कैद सजाय तोकिएका उनी त्यसयता फरार सूचीमा थिए। प्रहरीले उनीलाई २८ वर्षपछि आइतबार पक्राउ गरेको छ।

देवघाट–४ का सनबहादुर थापालाई सोही अदालतले विसं २०६३ कात्तिक १२ गते एक महिना कैदको फैसला सुनायो। सवारी ज्यान मुद्दामा कैद तोकिएका थापालाई प्रहरीले १४ वर्षपछि आइतबार पक्राउ गरेको छ।

यी दुई घटना त उदाहरण मात्रै हुन्। अदालतबाट सजाय तोकिएका विभिन्न मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयले विशेष अभियान नै चलाएको छ। प्रहरीको अभियान अन्तर्गत असार पहिलो सातादेखि यही असोज १८ गतेसम्म १ सय ६३ फरार प्रतिवादी पक्राउ परेका छन्।

फरार प्रतिवादी पक्राउ गर्ने अभियान अन्तर्गत आइतबार मात्रै प्रहरीले २४ जनालाई पक्राउ गरेको जिप्रकाका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।

उनका अनुसार कर्तव्य ज्यान मुद्दामा फरार एक, मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार सात, सम्बन्ध बिच्छेद मुद्दामा फरार दुई, केही सार्वजनिक अपराध मुद्दामा फरार पाँच, दर्ता बदर सार्वजनिक गरी पाउँ मुद्दामा फरार दुई, जालसाजी मुद्दामा फरार दुई, जारी मुद्दामा फरार एक र सवारी ज्यान मुद्दामा फरार एक जनालाई पक्राउ गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट