८३ वर्षीय फरार प्रतिवादी पक्राउ-Sutra News

८३ वर्षीय फरार प्रतिवादी पक्राउ

सोमबार, १९ असोज २०७७

सोमबार, १९ असोज २०७७

बागलुङ- प्रहरीले सरकारी छाप, कागज र दस्तखतको दुरुपयोग मुद्दाका फरार प्रतिवादी बागलुङ नगरपालिका-७, का ८३ वर्षीय इन्द्रनिधि पाध्यालाई पक्राउ गरेको छ। उनीलाई विसं २०६४ पुस १३ गते अदालतले ११ महिना २० दिन कैद र रु ५० जरिवानाको फैसला गरेको थियो। उनी अदालतको फरार सूचीमा रहेका थिए।



उनीसहित विभिन्न मुद्दामा दोषी ठहर भई अदालतबाट सजाय तोकिएका आठ फरार प्रतिवादीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ पर्नेमा कुटपिट मुद्दाका फरार जैमिनी नगरपालिका–१० का ५३ वर्षीय मनबहादुर श्रीस, सार्वजनिक अपराधमा सोही वडाका ३२ वर्षीय जनक श्रीस र २८ वर्षीय समिर श्रीस छन्।

बागलुङ-९, का २६ वर्षीया किरण विक, वडा नं १० का विनोद शर्मा र बरेङ गाउँपालिका-१, का यमबहादुर थापा पनि सार्वजनिक मुद्दामै पक्राउ परेका हुन्। यस्तै गाली बेइज्जती मुद्दामा बरेङ–३ का ४० वर्षीया हीरा श्रीसलाई पक्राउ गरिएको जिप्रकाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले बताए।

फैसला कार्यान्वयनका लागि उनीहरुलाई आइतबार नै जिल्ला अदालतमा उपस्थित गराइएको उनको भनाइ छ। कैद सजाय तोकिएकालाई अदालतको आदेशले कारागार चलान गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये न्यूनतम रु १०० देखि बढीमा सात हजारसम्म जरिवानाको सजाय पाएका छन्।

कैद सजाय तोकिएकामा पाध्यासहित जैमिनी नगरपालिका–१० का श्रीस र बरेङ गाउँपालिका–१ का थापा छन्। श्रीसलाई विसं २०६७ जेठ २७ गते अदालतले दुई वर्षको कैद सजाय सुनाएको थियो। थापाको मुद्दामा अदालतले विसं २०७४ चैत १५ गते रु १०० जरिवानासहित रु ९०० जरिवाना तोकेको थियो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट