यी हुन् प्रदेश ५ को प्रदेशसभामा तोडफोड गर्ने कांग्रेसका तीन सांसद-Sutra News

यी हुन् प्रदेश ५ को प्रदेशसभामा तोडफोड गर्ने कांग्रेसका तीन सांसद

सोमबार, १९ असोज २०७७

सोमबार, १९ असोज २०७७

काठमाडौं- प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामसम्बन्धी सरकारले पेस गरेको प्रस्तावलाई अगाडि बढाउन सोमबार बसेको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले तोडफोड गे।



प्रदेशसभाको सोमबार दोस्रो पटक चलेको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई प्रदेशको नाम र राजधानीबारेको प्रस्ताव छलफलका लागि पेस गर्न समयलगत्तै कांग्रेस सांसदले कुर्सीले हानेर टेबुल र माइक तोडफोड गरे।

रोष्टम जानबाट अवरोध गरिरहेका कांग्रेस सांसदहरूबाट फुत्किएर रोष्टम पुगेका मन्त्री केसीले नामाकरण लुम्बिनी र प्रदेशको स्थायी राजधानी दाङ बनाउने प्रस्ताव छलफलका लागि पेसमात्रै के गरेका थिए, कांग्रेस सांसद आफ्नो बस्ने कुर्सी छेउ पुगेर कुर्सी उचालेर तोडफोडमा उत्रिए।

को हुन् तोडफोडमा उत्रिनेहरु?

कुर्सी उचालेर सुरमा तोडफोडमा उत्रिने कांगेस सांसद थिए, बसिउद्दिन खाँ। रुपन्देही ४ (ख)बाट निर्वाचित खाँले  कुर्सी उचालेर टेबुलमा प्रहार गरेका थिए।

त्यसपछि कांग्रेस रूपन्देहीका सांसद अष्टभुजा पाठक र नवलपरासीका सांसद वैजनाथ कलवारले कुर्सी उचालेर तोडफोड गरेका थिए।

पाठक रुपन्देही-४ (क)का सांसद हुन् भने कलवार नवलपरासी पश्चिम-२ (ख) का हुन्। कलवार यातायात व्यवसायी पनि हुन्। 

कारबाही होला?

प्रदेशसभामा कांग्रेस सांसदले गरेको तोडफोडप्रति सत्तारुढ नेकपा प्रदेश कमिटीले आपत्ति जनाएको छ। नेकपाका प्रदेश प्रमुख सचेतक भुमिश्वर ढकालले संसदमा भएको तोडफोडप्रति आपत्ति जनाउँदै ती सांसदहरुलाई के गर्ने भन्नेबारे छलफल भइरहेको बताए। यद्यपि यो विषय सभामुखको भएको उनको भनाइ छ। ‘यसबारे के गर्ने भनेर हामी अहिले छलफलमा छौं,’ ढकालले भने, ‘यद्यपि यो सभामुखको विषय हो। कस्तो कारबाही गर्ने भनेर निर्णय लिने अधिकार उहाँको हो।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट