किन दिनदिनै घटबढ भइरहेको छ सुनको मूल्य ?-Sutra News

किन दिनदिनै घटबढ भइरहेको छ सुनको मूल्य ?

सोमबार, १९ असोज २०७७

सोमबार, १९ असोज २०७७

काठमाडौं- नेपाली बजारमा पछिल्लो समय सुनचाँदीको मूल्यमा घटबढ भइरहेको छ। अहिलेको सुनचाँदीको राम्रो ब्यापार हुने समय हो। तर, कोरोना महामारीका कारण सुनको मूल्य इतिहासकै उच्च विन्दुमा पुगेपछि ब्यापार ठप्पप्रायः बनेको छ।



२३ साउनमा सुनको मूल्य १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेर इतिहास रचेको थियो। पछिल्लो समय भने ९० हजारदेखि एक लाखबीचमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

असोज महिना सुरु भएदेखि १९ गतेसम्म आइपुग्दा सुनको मूल्य दुई हजार पाँच सय रुपैयाँले घटेको महासंघले जानकारी दिएको छ। गत वर्षहरुको तुलनामा यो वर्ष सुनचाँदीको व्यापार ५ प्रतिशत पनि नभएको नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी  मञ्चका अध्यक्ष गणेश प्रसाद लकान्त्री बताउँछन्।

कोरोनाका कारण अहिले अति आवश्यकबाहेक सबैखाले ब्यापार ठप्पजस्तै बनेको उनको भनाइ छ। उनी भन्छन्, ‘सामान्य समयमा हो भने अहिले सुनचाँदीको खरिद-बिक्री सबैभन्दा धेरै हुने समय हो। तर, यो वर्ष मूल्य पनि बढेको छ। कोरोना महामारीका कारण मानिसहरु आर्थिक संकटमा परेका छन्। जसले गर्दा क्रेताभन्दा बिक्रेता धेरै आइरहेका छन्।’ 

सुनको मूल्य अस्थिर हुनुका कारण

पछिल्लो समय बजारमा सुनको मूल्य अस्थिर हुनुका मुख्य कारण कोरोना भाइरसलाई नै मान्न सकिने नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेज रत्न शाक्य बताउँछन्।

यतिबेला अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा तल-माथि हुने क्रम चलिरहेको छ। जसका कारण नेपाली बजारमा पनि त्यसको असर परेको उनको भनाइ छ।

अरु वर्ष पनि यो समयमा सुनको मूल्य तलमाथि हुने गर्थ्यो। तर यो वर्ष अन्य वर्षजस्तो सामान्य अवस्था नभएकाले त्यस्तो भएको उनको भनाइ छ। उनी भन्छन्, ‘अबको केही समयसम्म बजारमा सुनको मूल्य यही आधारमा घटबढ हुनेछ। कोरोनाको कारण मानिसहरुले आफ्ना लगानी सुरक्षित गर्न सुनमा लगानी गरिरहेका छन्।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम दम्पतीलाई कोरोना संक्रमण भएसँगै विश्वको अर्थतन्त्रमा हलचल आएको र अमेरिकी डलरको मूल्यमा पनि गिरावट आएकाले सुनको मूल्य घटबढ भएको उनको बुझाइ छ।

यता सुनचाँदी व्यवसायी महासंघका अध्यक्षका अनुसार सुनको मूल्यमा घटबढ हुनुको कारण नेपाली पैसा मजबुत भएकाले हो। उनी भन्छन्, ‘अहिले डलरको भाउ ११८ रुपैयाँमा झरेको छ। जुन बेला सुनको मूल्य उच्च थियो, त्यो बेला डलरको भाउ पनि १२१ रुपैयाँसम्म पुगेको थियो। यसको असर सुनचाँदीको बजारमा देखिएको हो।’

आजको सुनको मूल्य

नेपाली बजारमा सुनचाँदीको भाउ सोमबार सामान्य गिरावट आएको छ। आइतबारको तुलनामा सोमबार छापावाला सुनको भाउ प्रतितोला चार सयले घटेर ९४ हजार १ सय रुपैयाँ कायम भएको छ।

आइतबार यसको भाउ प्रतितोला ९४ हजार पाँचसय रुपैयाँ थियो। यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला चार सयले नै घटेर ९३ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

आइतबार यसको भाउ प्रतितोला ९४ हजार रुपैयाँ रहेको थियो। यता चाँदीको भाउ भने स्थिर रहेको छ। आज चाँदी एक हजार एक सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट