काठमाडौं- दुई वर्षअघिसम्म राजु खड्कालाई कहिल्यै लागेको थिएन, जीवनमा अस्पताल जानुपर्ला भनेर। मृत्युशय्यमा छट्पटाएर जीवनको याचना गर्नुपर्ला भनेर।
परिवारकै सबैभन्दा स्वस्थ ठान्थे उनी आफूलाई। तर, उनको स्वस्थ शरीर अचानक रोगको शिकार भयो। राम्रो कमाउने सपना बोकेर २ वर्षअघि विदेश (कतार) उडेका उनी अचानक अस्पतालको बेडमा थन्किए। राजुको सपना त्यतै कतै छुट्यो।
‘दुवै मिर्गौला खराब छ, फेर्नुपर्छ,’ डाक्टरको यो सुझावले राजु त गले नै। उनको परिवारको पनि दुःखका दिन गन्ती हुन थाले। ‘उपचारकै लागि १२ लाख खर्च भइसक्यो। ऋणको त कुनै हिसाबै छैन। भाइलाई बचाउन सहयोगी हातहरू नै कुरिबसेका छौं,’ दाइ विपन खड्का भन्छन्।
राजु अहिले शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छन्। समय समयमा डायलिसिस गरिरनुपर्छ उनको। ‘अहिले त राम्रोसँग बोल्न पनि सकेको छैन, सुधार पनि देखिएको छैन,’ चिन्ताजन्य भावमा दाइ विपन भन्छन्, ‘पेट ढाडिएर शुन्निएको छ। स्याँ-स्याँ भइरहेको छ। ज्वँरो पनि आइरहेको छ।’
०००
राजु २२ वर्षका भए। घर, उदयपुर जिल्लाको कटारी-११ गोठडाडा। कक्षा ८ सम्म पढेपछि स्कुले पढाइ रोकियो। त्यसपछिका केही वर्ष उनले गाउँ र सहर गर्दै विताए। यही बीचमा विदेशतिर जाने सुर चलाए राजुले। ४ वर्षअघि १८ वर्षको उमेरमा राजु वैदेशिक रोजगारको लागि पहिलोपटक कतार छिरे। एक वर्ष काम गरे। त्यही क्रममा कम्पनी बन्द भयो। उनी बाध्य भएर घर फर्के। घर आएपछि बिहे गरे। विहेपश्चात् घरका जिम्मेवारी बढे। ‘यहाँ बसेर खासै कमाउने अवस्था थिएन, त्यही भएर भाइले फेरि विदेश जाने योजना बनायो,’ दाइ विपन सम्झन्छन्।
उसो त युवा उमेरमा कमाउने चाहनसँग काम गर्न जोस पनि उतिकै हुन्छ। उनी जोसिला थिए। र, त्यही जोसमा दोस्रो पटक कतार हानिए। लेभरको काम थियो। गर्दै थिए।
दुर्भाग्य, नसोचेको समस्या राजुका शरीरमा आउन थाले। गर्मीमा काम गर्नुपर्दथ्यो। काम गर्दागर्दै रिंगटा चल्ने, बोमिट हुने, चक्कर चल्ने, ज्वरो आउने लगायतका समस्या राजुमा देखिन थाले। समस्याले गाँज्दै लग्यो। शिथिल हुँदै गएपछि उनलाई कम्पनीले अस्पताल भर्ना गरिदियो। त्यहाँ उपचारको क्रममा रहँदा उनका दाइ विपन पनि कतारमै थिए। अस्पतालमा गएका दाजुलाई डाक्टरले भने, ‘तपाईँको भाइको रगतमा इन्फेक्सन छ। यो ठाउँमा बस्यो भनेदेखि बाँच्न गाह्रो हुन्छ। सकेसम्म नेपाल वा इण्डिया लगेर उपचार गरे ठीक हुन्छ। ढिला गरे समस्या होला।’
डाक्टरले सुझाव दिएपछि राजुलाई नेपाल ल्याउने तयारी गरियो। उनलाई नेपाल ल्याइयो। घर ल्याइसकेपछि धरानको अस्पतालमा उनलाई उपचार गर्न लगियो। ‘ घर ल्याएपछि भनेको ठाउँमा जान सकिएन। जुन ठाउँमा लग्यो, त्यहाँ पहुँच नहुने, भनेजस्तो राम्रो उपचार नहुने अवस्था थियो। यता काठमाडौं ल्याएर धेरै अस्पताल चहारियो। धरानतिर पनि धेरै अस्पताल गइयो,’ दाइ विपनले भने। यही उपचारकै क्रममा दुवै मिर्गौला खराब भएको रिपोर्ट आयो। त्यसपछि डाक्टरकै सिफारिसमा महिनाको १३ हजारको दबाइ लिइरहेका थिए राजुले। विस्तारै निको हुँदै थियो।
पछिल्लो केही महिनायता फेरि उनको स्वास्थ्य खराब बन्दै गयो। ‘अहिले डेढ महिनाजस्तो भयो यस्तो भएको। रिंगटा चल्ने, सुन्निने, खोकी बढ्ने र निमोनिया हुने समस्या देखिए,’ दाइ विपनले भने।
०००
राजुको टिचिङमा उपचार गर्न समस्या भइरहेको दाइ विपीन बताउँछन्। ‘राम्रो सल्लाह पाइरहेको छैन। योचाहिँ गर्नुपर्छ भनेर सल्लाह दिएको छैन,’ उनी भन्छन् ।
राजुका बा र आमा वृद्ध छन्। खर्च नहुँदा छोराको उपचार गर्न कठिन पर्दा रोइरहिन्छन् आमा। केही दिनअघि राजुले दाइलाई भनेका थिए, ‘बुबा ममी वृद्ध हुनुभयो, केही गर्नसक्नु हुन्न। तपाईँहरू हुनुहुन्छ। मलाई बचाउनुस्।’
‘भाइको यो कुराले भक्कानो फुटेर आउँछ,’ दाजु विपन भन्छन्, ‘आफूसँग भएको खर्च सकिसक्यो। अरुको सहयोग विना लाचार भएको छु।’ विदेशमा भएका साथीभाइले धेरथोर सहयोग गरिरहेका छन्। मिर्गौला फेर्न सहयोग गर्छु भनेर आश्वासन दिनेहरू पनि छन्।
मिर्गौला फेर्न पनि ६ महिनाअघि सम्भव नभएको डाक्टरहरू भनिरहेका छन्। ‘कोरोना भाइरसको कारण कुनै पनि बिरामीलाई अहिले अप्रेसन गर्न मिल्दैन। तपाईँहरूले पर्खनुपर्ने हुन्छ। मिर्गौला दिनेलाई पनि भर्ना गर्नुपर्ने हुन्छ,’ डाक्टरले भनेको कुरा दाइ विपन सुनाउँछन्।
अस्पतालमा कोरोनाकै कारण उपचारमा पनि समस्या भइरहेको छ। ‘वरिपरि मान्छेलाई कोरोना भइरहेको हुन्छ। यस्तो बेलामा न अस्पतालमा राम्रो व्यवहार हुन्छ। जोखिम पनि धेरै छ,’ दाइ विपन सुनाउँछन्।
[नोट : राजुको उपचारमा सहयोग गर्न चाहनेले राजुका दाइ प्रबीण खड्का (विपन) को मुक्तिनाथ बिकास बैंक कटारी शाखाको रहेको 04620100582545000001 खातामा पैसा जम्मा गर्न सक्नुहुन्छ।]