सप्तरी- १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोमबार एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका–७ का ३५ वर्षीय पाँचु सरदार रहेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ।
पीडित परिवारको उजुरीका आधारमा पक्राउ परेका सरदारविरुद्ध मंगलबार नै उजुरी दर्ता गरी जिल्ला अदालतबाट म्यादसमेत थप गरेको प्रहरीले जनाएको छ।
घरमा कोही नभएका बेला शनिबार साँझ बलात्कार गरेको आरोपमा प्रहरीले आरोपित सरदारलाई घरबाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले बताए। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आइतबार पीडितको स्वास्थ्य परीक्षण भएको बताइएको छ। रासस