काठमाडौं- नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य गगन थापाले सोमबार प्रदेश ५ मा आफ्नै सांसदहरूले गरेको तोडफोड संसदीय मर्यादा विपरित भएको बताएका छन्। मंगलबार विहानै सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया जनाउँदै उनले उक्त घटनाको आत्मालोचना गर्दै कारबाही गरिनुपर्ने बताएका छन्।
‘प्रदेश ५ को संसदभित्र प्रतिपक्षबाट हिजो भएको व्यवहार संसदीय मर्यादा र प्रतिष्ठा विपरित छ। संसदमा आफ्नो फरक मत राख्ने र सरकारको विरोध गर्ने अनेकन तरिका छन्। हिजोको तरिका संसदभित्र पूर्णत अवाञ्छनीय छ। हामीले यो घटनामा आत्मालोचना गर्दै गल्ती गर्नेलाई कारबाही पनि गर्नै पर्छ’ नेता थापाले फेसबुकमा लेखेका छन्।
प्रतिपक्षको भूमिकाबारे नेतृत्वले आफ्ना नेता कार्यकर्तालाई सिकाउन नसकेको बताउँदै नेता थापाले भने, ‘प्रतिपक्षले सरकारको जस्तोसुकै नाजायज हठकाविरुद्ध आवाज उठाउन पाउँछ, पाउनु पर्छ र आवाज उठाउने तरिका संसदीय अभ्यासभित्रै छ। प्रतिपक्षको भूमिका के–कस्तो हुने भन्नेमा हामीले आफ्ना नेता कार्यकर्तालाई सिकाउन नसकेकै हो।’
आवेग र आवेशमा गरिएका व्यवहारले प्रतिपक्षकै मुद्दालाई कमजोर पान्र्ने नेता थापाको तर्क छ। ‘प्रतिपक्षले आवेगमा विवेक गुमाउँदा सरकारको असंसदीय तथा निन्दनीय व्यवहारका विरुद्ध बोल्ने नैतिक बल पनि गुमाउनु पर्छ। नत्र मन्त्रीको “घिसारेर निकालिहाल्” को प्रतिकार यति कमजोर हुँदैन थियो। आवेग र आवेशमा गरिएको व्यवहारले प्रतिपक्षकै मुद्दालाई कमजोर पार्छ भन्ने कुरा बुझौँ’ थापाले भने।
त्यसैगरी अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले पनि संसदीय व्यवस्था मान्नेहरूले जस्तोसुकै जोखिम मोलेर पनि यसको मर्यादा कायम गर्न सक्नु पर्ने बताएका छन्।
ट्वीट गर्दै उनले भनेका छन्, ‘जे हुदाँ पनि त्यसरी प्रतिवाद गर्नु गलत हो। प्रदेशको राजधानी कहाँ हुनुपर्छ भन्ने सवालमा प्रदेशका विधायक सबैले छलफलमा भाग लिन पाउनु पर्छ तर संसदीय व्यवस्था मान्नेहरूले जस्तोसुकै जोखिम मोलेर पनि यसको मर्यादा कायम गर्न सक्नु पर्दछ।आफ्नै तस्बिरमा धब्बा लाग्ने गरि हिंसामा उत्रिनु गलत हो।’