मतदानमा जानुअघि प्रदेश ५ सरकारले लियो महत्वपूर्ण तीन निर्णय-Sutra News

मतदानमा जानुअघि प्रदेश ५ सरकारले लियो महत्वपूर्ण तीन निर्णय

मंगलबार, २० असोज २०७७

मंगलबार, २० असोज २०७७

बुटवल– प्रदेश ५ को स्थायी राजधानी र नामाकरण सम्बन्धी प्रस्तावका लागि मतदानमा जानुअघि प्रदेश सरकारले तीन महत्वपूर्ण निर्णय लिएको छ। मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले लिएको पहिलो निर्णय हो, रूपन्देहीको बुटवल–भैरहवा करिडोरलाई वित्तीय राजधानी बनाउने।



दोस्रो निर्णयमा रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लालाई समेटेर सांस्कृतिक र पर्यटकीय राजधानी बनाउने। र, तेस्रो निर्णय कपिलवस्तुको शिवराज नगरपालिकामा सरुवा रोग नियन्त्रणसम्बन्धी अस्पताल बनाउने निर्णय रहेको छ।

शुक्रबार प्रदेशको स्थायी राजधानी दाङको देउखुरी उपत्यका र नाम लुम्बिनी राख्ने प्रस्ताव सरकारले प्रदेशसभामा पेस गरेपछि हाल अस्थायी राजधानी रहेको रुपन्देही लगायतका केही जिल्ला चिढिएका छन्।

सत्तापक्षका प्रदेशसभा सदस्यलाई सान्त्वना दिन मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हुन सक्ने बताइएको छ। सरकारले लिएका निर्णय मंगलबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले सार्वजनिक गर्ने तयारी छ।

विरोधकाबीच सोमबार सरकारले संसदमा पेस गरेको प्रस्तावलाई छलफलमा राखिएपछि विपक्षी नेपाली कांग्रेस दोडफोडमा उत्रिएको थियो। उक्त प्रस्तावमा आज मतदान हुने ठानिएको छ।

सत्तारुढ दलले सरकारले ल्याएको प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ भने विपक्षी नेपाली कांग्रेसले भने प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।तेस्रो ठूलो दल जनता समाजवादी पार्टीले भने राजधानी दाङ राख्ने प्रस्तावलाई समर्थन गरेको छ । तर, नाममा उसको असहमति छ।

उता एक मात्र सांसद रहेको राष्ट्रिय जनमोर्चाले भने आफ्नो धारणा अझैं प्रष्ट पारेको छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट