नेकपा सचिवालय बैठकको एजेण्डा ‘सस्पेन्स’मा, तीन नेतालाई आजै मन्त्री बनाइने सम्भावना-Sutra News

नेकपा सचिवालय बैठकको एजेण्डा ‘सस्पेन्स’मा, तीन नेतालाई आजै मन्त्री बनाइने सम्भावना

मंगलबार, २० असोज २०७७

मंगलबार, २० असोज २०७७

काठमाडौं- नेकपा केन्द्रीय सचिवालयका सदस्यहरुलाई एजेण्डा ‘सस्पेन्स’मा राखेर नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले केन्द्रीय सचिवालयको बैठक बोलाएका छन्।



‘आज अपरान्ह ४ बजे बैठकका लागि सूचना गरिएपछि एजेण्डा के हो भनेर सोधियो, तर भनिएन’ सचिवालयका एक सदस्यले सूत्रन्युजसँग भने, ‘त्यहीँ छलफल गरेर एजेण्डा तय गरौँला नि भनिएको छ।’

तर, नेकपाको सचिवालय बृत्तभित्र अध्यक्षद्वयले मन्त्रिपरिषद् विस्तारका लागि सचिवालय बैठक बोलाइएको हुनसक्ने अनुमान हुन थालेको छ। अध्यक्षद्वयबीच एक हप्तायता लगातार भएका बैठकमा भएको ‘सहमति’को सूचनाका आधारमा यस्तो अनुमान गरिएको हो।

स्रोतका अनुसार, खाली रहेका तीन वटा मन्त्रालयमा तत्काल नयाँ मन्त्री नियुक्त गर्ने सहमतिमा अध्यक्षद्वय पुगेका छन्। उनीहरुबीच महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यद्वय सुरेन्द्र पाण्डे र जनार्दन शर्मालाई मन्त्री बनाउने सहमति भएको छ।

बताइएअनुसार, केन्द्रीय सचिवालयले अनुमोदन गर्‍यो भने महासचिव पौडेललाई अर्थ मन्त्रालय, पाण्डेलाई शहरी विकास मन्त्रालय र शर्मालाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइनेछ।

नेकपाभित्रको आन्तरिक ध्रुवीकरणमा महासचिव पौडेल प्रम केपी शर्मा ओली निकट छन् भने पाण्डे वरिष्ठ नेता माधव नेपाल निकट मानिन्छन्। शर्माचाहिँ अध्यक्ष प्रचण्ड निकट मानिन्छन्।

आजै मन्त्रिपरिषद् विस्तार हुने र र शपथ ग्रहण पनि आजै गराउन चर्चा नेकपाको शीर्ष नेतृत्व तहमै चलेपनि राष्ट्रपति कार्यालयमा भने यस सम्बन्धमा जानकारी गराइएको छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट