अनशनको २३औं दिन: झनै जटिल बन्दै डा.केसीको स्वास्थ्य-Sutra News

अनशनको २३औं दिन: झनै जटिल बन्दै डा.केसीको स्वास्थ्य

मंगलबार, २० असोज २०७७

मंगलबार, २० असोज २०७७

काठमाडौं- २३ औं दिन बित्यो, चिकित्सा शिक्षा सुधारको माग गर्दै डा.गोविन्द केसी अनसन बसेका। शिक्षण अस्पताल महाराजगञ्जको एनएक्स वान, ५०१ बेडमा केसी पल्टिरहेका छन्।



आजसम्म आइपुग्दा उनको अवस्था झनै जटिल बन्दै गइरहेको छ। डा.केसीको हेरचाहमा रहेकी डा.टोसिमा कार्की भन्छिन्, ‘तीन दिन भयो, लगातार अक्सिजन छुटाउन मिलेको छैन। पहिला ट्वाइलेट जाँदामात्र चक्कर लाग्थ्यो। अहिले उठ्दा र पल्टिरहेको ठाउँमा पनि चक्कर लाग्ने भएको छ।’

डा.टोसिमाका अनुसार डा.केसीका मांशपेशीहरू सबै बाउँडिने, ऐंठन भएर दुख्ने भएका छन्। शरीरमा आवश्यक तत्वहरू (क्याक्सियन, सोडियम, पोटासियम) एकदमै कम छन्। सुगरको मात्रा कम छ। ‘पिसाबमा त्यही भएर स्टारबेसन, एसिड इफेक्ट देखिएको छ। त्यो बढ्दै गएमा कुनै पनि बेला उहाँको होस्मा तलमाथि हुनसक्छ,’ डा.टोसिमा भन्छिन्।

उनी बोल्न नसक्ने स्थितिमा पुगेका छन्। थोरै बोल्दा पनि श्वास फेर्न गाह्रो हुने, मुटु दुख्ने समस्या देखिएको डा.टोसिमा बताउँछिन्। उनका अनुसार मुटुको चाल एक्कासि रोकिन सक्ने वा हर्टअट्याक हुनसक्ने सम्भावना छ। उनी दोहोरो बोल्न सक्दैनन्। बोल्नु परेमा इसारा गर्न पनि अफ्ठ्यारो अवस्था छ। ‘नमस्ते गर्दा फर्काउने चाहिँ गर्नुहुन्छ। होस् भने गुमेको छैन,’ उनी भन्छिन्।

धेरै जोखिम भएका कारण आइसियको लागि डा.केसीलाई आग्रह गरिएको थियो। तर, उनी आइसियुमा जान मानिरहेका छैनन्। सुस्त आवाजमा उनी इसारामा भन्छन्, ‘माग पूरा नभई म यहाँबाट जान्न।’

तीन दिन यता उनलाई भेट्नेहरूलाई रोक लगाइएको छ। ‘उहाँको रोग प्रतिरोधात्मक क्षमता कम छ। कुनै पनि रोगको संक्रमण हुने जोखिम भएका कारण सबैलाई भेट्न रोक लगाइएको छ। तर पनि उहाँलाई भेट्न आउनेहरूले शुभकामना छाडेर जानुभएको छ,’ डा.टोसिमा भन्छिन्।

अनसनको १९औं शृङ्खलामा रहेका डा.केसीका मागमाथि सरकारले बेवास्ता गरिरहेको टड्कारो छ। उनका समर्थनमा स्वास्थ्यकर्मी, प्रतिपक्षी दलका नेता, लेखक, कलाकार लगायतका अभियन्ताहरूले सरकारलाई घच्घच्याइरहेका छन्। तर, सरकारले उनका मागमाथि गम्भीर देखिन्न।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट