देउवाको भनाइ स्मरण गर्दै मुख्यमन्त्री भने– उहाँले बुटवल स्थायी राजधानी भन्‍नुभएको थिएन-Sutra News

देउवाको भनाइ स्मरण गर्दै मुख्यमन्त्री भने– उहाँले बुटवल स्थायी राजधानी भन्‍नुभएको थिएन

मंगलबार, २० असोज २०७७

मंगलबार, २० असोज २०७७

काठमाडौं– प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले अस्थायी राजधानी तोक्ने तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नै बुटवल अन्तिम राजधानी नभएको बताएको दाबी गरेका छन्। प्रदेशसभामा प्रदेश राजधानीको नाम र स्थायी राजधानीको विषयमा मंगलबार जवाफ दिने क्रममा मुख्यमन्त्री पोखरेलले कहीँ कतै सभापति देउवाले बुटवल अन्तिम राजधानी नभनेको दाबी गरेका हुन्।



‘बुटवल अस्थायी राजधानी हो स्थायी राजधानी तोक्ने अधिकार त प्रदेश सरकारलाई नै छ,’ देउवाले बुटवल आउँदा या त्यस क्षेत्रका विभिन्‍न कार्यक्रममा भनेको दाबी गर्दै मुख्यमन्त्रीले भने। उनले देउवाले उक्त भनाइ पटक–पटक भनेको र आफूसँग रेकर्ड सुरक्षित रहेको पनि बताए। 

‘नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले प्रदेशको अस्थायी राजधानी तोक्ने काम गर्नुभयो। त्यसपछि प्रदेश ५ का जिल्ला आउँदा उहाँले हरेक सभामा भनेका भनाइ मलाई सम्झना छ,’ उनले भने, ‘उहाँले अस्थायी राजधानी न तोकेको हो। स्थायी तोक्ने अधिकार प्रदेशसभामा छ भन्नुभएको थियो, रेकर्ड सुरक्षित छ।’

उनले प्रदेशको राजधानी कहाँ बनाउने नभई प्रदेश कस्तो बनाउने भनेर सोच्न उनले सबैलाई आग्रह पनि गरे। देउवाले बुटवललाई वैज्ञानिक हिसाबले सही छ भनेर नभनेको पनि दाबी गरे। ‘त्यसबेला उहाँले के भन्नु भएन भने वैज्ञानिक ढंगले हामीले राजधानी टुंगो लगाएका छौं यो नै अन्तिम हो भनेर कहीँ भन्नुभएको छैन,’ मुख्यमन्त्री पोखरेलले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट