देउखुरी क्षेत्रले समग्र प्रदेशकै साझा मनोविज्ञानको प्रतिनिधित्व गर्छ : मुख्यमन्त्री पोखरेल-Sutra News

देउखुरी क्षेत्रले समग्र प्रदेशकै साझा मनोविज्ञानको प्रतिनिधित्व गर्छ : मुख्यमन्त्री पोखरेल

मंगलबार, २० असोज २०७७

मंगलबार, २० असोज २०७७

काठमाडौं- प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको स्थायी राजधानीका रुपमा प्रस्ताव गरिएको देउखुरी क्षेत्रले प्रदेशकै साझा मनोविज्ञको प्रतिनिधित्व गर्ने बताएका छन्।



सरकारले प्रदेशसभामा पेस गरेको प्रस्तावमाथि मतदान हुनुअघि प्रदेश सभालाई मंगलबार सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन्।

‘हामीले राजधानी तय गरेको ठाउँ यो प्रदेशको सबैभन्दा ठूलो नदी सम्भयता भएको क्षेत्र हो,’ उनले भने, ‘त्यो राप्ती नदी हो। यो नदीले दुईवटा आञ्चलिक मनोविज्ञानलाई जोड्छ।’

देउखुरी क्षेत्रले प्रदेशभित्र रहेका जातीय समुदायको सभ्यतालाई पनि प्रतिनिधित्व गर्ने बताउँदै पोखरलले भने, ‘थारु र मगर र मधेसी समुदायको सभ्यताको संगमका रुपमा देउखुरी हो। कुनै एउटा भेगको मात्रै त्यसले प्रतिनिधित्व गर्दैन। यो प्रदेशको साझा मनोविज्ञान त्यसले प्रतिनिधित्व गर्छ।’

यस्तो छ मुख्य मन्त्री पोखरेले गरेको सम्बोधनको सम्पादित अंशः

सभामुखमाथि अर्मयादित व्यवहार गर्नु भनेको आफूमाथि नै अमार्यदा गर्नु हो। हाम्रा गतिविधिलाई अहिलेको पुस्ताले मात्रै होइन भाबी पुस्ताले पनि समीक्षा गर्छ। त्यसैअनुसार आफ्ना व्यवहार प्रदर्शन गनुपर्छ।

शेरबहादुर देउवाले पनि अस्थायी तोकिएको हो, अन्तिम टुंगो प्रदेशसभाले नै टुंगो लगाउने हो भन्नुभएको थियो। उहाँले कहीँ पनि स्थायीरुपमा राजधानी तोकिएको हो भनेर भन्नुभएको छैन।

विशेष समितिले पनि पहिलो नम्बरमा दाङ, दोस्रो रुपन्देही र तेस्रो कपिलवस्तु भनेको छ। हामीले अहिले तोक्दा त्योभन्दा बाहिर गएको भन्ने होइन। विशेष समितिले एउटा कुरा गरेको र प्रदेश सरकारले अर्को गरेको होइन।

हामी कुनै क्षेत्र विशेषमा केन्द्रित भएर समग्र प्रदेशको समृद्धिको परिकल्पना गर्न सकिँदैन। यो प्रदेशसभाले १२ जिल्लाका जनताको समृद्धिबारे सोच्नुपर्छ।

हाम्रो प्रदेश ‘मिनी नेपाल’का रुपमा रहेको छ। हाम्रो प्रदेशमा आर्थिक समाजिक हिसाबले अगाडि बढेको र पछाडि परेको क्षेत्र पनि छन्। त्यस्तै आर्थिकरुपमा पछाडि रहेका समुदायको पनि बसोबास छ।

प्रदेशका जनताको मनोविज्ञानलाई जोड्ने विषय नै प्राथामिक विषय हो। प्रदेश सार्न खोजियो भनियो। प्रदेश सार्नका लागि होइन बनाउनका लागि हो।

हामीले राजधानी तय गरेको ठाउँ यो प्रदेशको सबैभन्दा ठूलो नदी भएको क्षेत्र हो। त्यो राप्ती नदी हो। यो नदीले दुईवटा आञ्चलिक मनोविज्ञानलाई जोड्छ। हामी बाँके, बर्दियामा हरित क्रान्तिको कल्पना गरेका छौं। सिक्टा सिँचाईमार्फत् त्यो काम अघि बढ्छ।

कर्णाली प्रदेशको ‘गेट वे’रुपमा नेपालगञ्ज भन्सार रहेको छ। हामीले नेपालगञ्जलाई बृहत्तर महानगरपालिकाको कल्पना गरेका छौं।

लुम्बिनीको जति चाँडो विकास हुन्छ, त्यति चाँडो समग्र प्रदेशकै विकास हुन्छ। कपिलवस्तुलाई हरेक माटोमुनि सम्पदा लुकेको ठाउँका रुपमा लिइन्छ। त्यसको उत्खनन्का लागि प्रदेश सरकारले धेरै ध्यानाकर्षण गर्ने काम गरेको छ।

लुम्बनीका सबै सम्पदा क्षेत्र र यस क्षेत्रमा रहेको पहाडी क्षेत्रलाई विकास गरेर पर्यटकीय क्षेत्रका रुपमा विकास बनाउने योजना बनाएका छौं।

पाल्पाको रामपुरलाई विशेष सहर योजना बनाउने योजना अघिल्लो वर्षकैरुपमा अगाडि सारिसकेका छौं। प्रदेश सरकार कुनै एउटा क्षेत्र विशेषमा केन्द्रित हुन सक्दै सक्दैन।

थारु र मगर र मधेसी समुदायको सभ्यताको संगमका रुपमा देउखुरी हो। कुनै एउटा भेगको मात्रै त्यसले प्रतिनिधित्व गर्दैन। यो प्रदेशको साझा मनोविज्ञान त्यसले प्रतिनिधित्व गर्छ।

हामीले प्रस्ताव गरेको क्षेत्रभित्र लुम्बिनी अञ्चलकै अर्घाखाँचीको शितगंगा नगरपालिका पनि जोडिएको छ। हामीले यसलाई लुम्बिनी क्षेत्रभन्दा बाहिर गएको भनेर बुझ्नु हुँदैन। राजनीतिक आग्रह राखेर होइन, समग्र प्रदेशको हित सोचेर राखिएको हो।

हाम्रो सम्भयताको विकास पूर्वतिर ज्यादा भएको छ, त्यसलाई पश्चिमतर्फ फर्काउनुपर्छ। भोलि निर्माण हुने सडक सञ्जालले अहिलो अपायक लागेको क्षेत्र पनि पायक लाग्छ।

हिजो म ६ जिल्लाका व्यवसायीहरुको सम्पर्कमा थिएँ। आज लुम्बिनी समग्र १२ जिल्लामा विस्तार भएको छ। व्यापार गर्न जति क्षेत्र फराकिलो भयो, जति साझा मनोविज्ञान निर्माण भयो त्यति फाइदा हुन्छ। प्रदेश सरकारले पेस गरेको प्रस्तावप्रति के प्रतिपक्ष, के सत्तापक्ष कसैले विरोध गर्नु पर्दैन।

लुम्बिनी नाम हामीले ऐतिहासिकरुपमा उठाएका छौं। सबैको भवनाको प्रतिनिधित्व गर्छ। हामीले जातजातिको मनोविज्ञानलाई सही ढंगले सम्बोधन गर्ने प्रयास गरिरहेका छौं भन्ने माघीलाई प्रमुख चाडका रुपमा मनाउने गरिएकोबाट पनि थाहा हुन्छ।

अहिलेको हामीले जे प्रस्ताव गरेका छौं, त्यहाँ राजधानी विकास गर्न स्रोतको अभाव हुन्छ कि भन्ने चिन्ता गर्नु पर्दैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट