नेकपा सचिवालय बैठकमा आज के भयो ?-Sutra News

नेकपा सचिवालय बैठकमा आज के भयो ?

मंगलबार, २० असोज २०७७

मंगलबार, २० असोज २०७७

काठमाडौं- दुई-तीन पटक स्थगित भएको सत्तारुढ नेपाल कम्युनिष्ट (नेकपा)को सचिवालय बैठक मंगलबार बस्यो। बैठक बस्नुअघि खाली रहेका तीन वटा मन्त्रालयमा महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यद्वय सुरेन्द्र पाण्डे र जनार्दन शर्मालाई मन्त्री बनाउने अध्यक्षद्वयबीच सहमति भइसकेको र त्यसलाई सचिवालयले अनुमोदन गर्ने प्रचार निकै भयो।



तर, चर्चा गरिएजस्तो मन्त्री नियुक्ति र मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै चर्चा नै नभएको प्रवक्ता नाराणकाजी श्रेष्ठ बताउँछन्। ‘सचिवालयको आजको बैठकमा यसबारे कुनै छलफल भएन,’ बैठकबारे जानकारी गराउन संबाददाताहरुमाझ उपस्थित भएका  श्रेष्ठले भने, ‘प्रधानमन्त्रीजीले पनि यसबारे जनकारी गराउनु भएको छैन।’ 

सचिावलय सदस्य झलनाथ खनाल छलफलका विविध विषय भए पनि खुलेर खासै कुनै पनि विषयमा कुरा नभएको बताउँछन्। भन्छन्, ‘छलफलका विविधत विषय तर विशेष गरेर केही पनि भएन। सबैमा समान्य हिसाबले छलफल मात्रै भयो।

भयोचाहिँ के?

श्रेष्ठका अनुसार २३ दिनदेखि अनशन डा. गोविन्द केसीलाई कोभिड-१९ को त्रास बढेकाले सचिवालय बैकठले अनशन अन्त्य गर्न अनुरोध गरेको छ।

‘बैठकमा सरकारले डा. केसीलाई अनशनको अन्त्य गर्नका निम्ति गरेको अनुरोधसहितको विवरण प्रधानमन्त्रीले जानकारी गराउनुभयो,’ प्रवक्ता श्रेष्ठले भने, ‘केसीले चिकित्सा शिक्षा सुधारका क्षेत्रमा जुनजुन मुद्दा उठाउनु भएको थियो त्यसलाई पूरा गर्नेगरी अगाडि नै सम्झौता भएका छन्। कतिपय विषय कार्यान्वयनको प्रक्रियामा अगाडि बढेका छन्। सरकार कोरोना रोकथाम र नियन्त्रणमा केन्द्रित हुनुपर्ने अवस्था रहेको र पहिलाका सम्झौता कार्यान्वयनको पृष्ठभूमिमा रहकाले सरकारले जस्तै सचिवालय बैठकले पनि केसीलाई अनशन अन्त्य गर्न अनुरोध गरेको छ।’

त्यसैगरी सचिवालय बैठकमा अन्य निर्धारित एजेन्डामा छलफल भएको प्रवक्ता श्रेष्ठले बताए। निर्धारित एजेन्डामा सांगठानिक एकीकरणका बाँकी काम पूरा गर्ने र संगठनात्मक कार्ययोजनाको विषयमा छलफल भएको श्रेष्ठले बताए।

६ असोजको सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको सांगठानिक एकीकरणका बाँकी कामबारे विशेष खाका ल्याउन निर्देशन दिएको थियो। तर, त्यो समयसीमा त्यतिकै खेर गइसकेको छ। ‘यसमाबारे अहिलेसम्म खासै काम भएको छैन्,’ खनाल भन्छन्, ‘आजको बैठकमा पनि त्यस्तो विशेष छलफल यसमा केही भएन।’

सचिवालय बैठकमा संवैधानिक नियुक्ति र राजनीतिक नियुक्तिका विषयमा छलफल भएको छ। पछिल्लो पटक प्रधानमन्त्री ओलीले एकलौटी ढंगबाट राजदूत नियुक्त गरेपछि नेकपाका नेताहरु असन्तुष्ट थिए। तर, प्रवक्ता नारायणकाजी श्रेष्ठले यसबारेमा पनि सामान्य छलफल मात्रै भएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट