काठमाडौं- सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्ड २०२० संस्करणको छनोट प्रक्रियाअन्तर्गत चार विधामा उत्कृष्ट १२ छानिएका छन्। अवार्डको छनोटका लागि १४ जनाको जुरी समितिले दोस्रो चरणमा विभिन्न चार विधाको नतिजा सार्वजनिक गरेको हो। ‘स्टार्टअप आइसिटी अवार्ड २०२०’ र ‘राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०२०’ विधामा उत्कृट १२ तेस्रो चरणको छनोटको लागि प्रवेश गरेका छन्।
त्यसैगरी ‘प्रडक्ट आइसिटी अवार्ड २०२०’ को विधामा उत्कृट १३ प्रडक्टहरू तेस्रो चरणको छनोटमा प्रवेश गरेका छन् भने ‘इनोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड २०२०’ मा उत्कृष्ट १४ इनोभेसनहरू तेस्रो चरणको छनोटमा प्रवेश गरेका छन्।
पाँचौं संस्करणको ‘आइसिटी अवार्ड २०२०’ मा ११ विधाको लागि अनलाइन आवेदन खुला गरिएकामा ३५० बढीको अनलाइन आवेदन प्राप्त भएको आयोजकले जनाएको छ। भदौ अन्तिम सातादेखि सुरू भएको छनोट प्रक्रिया जारी छ। अन्य सात विधामा उत्कृष्ट सात हुँदै उत्कृष्ट तीनको छनोट गरेर सर्वोत्कृष्टको छनोट गरिने जुरी समितिका सुशील पोखरेलले बताए।
दोस्रो चरणबाट छनोट भएका उत्कृष्ट स्टार्टअप, प्रडक्ट, स्टुडेन्ट प्रोजेक्ट र इनोभेसनहरूले तेस्रो चरणको छनोटको लागि १४ जना जुरी समक्ष प्रिजेन्टेशन तथा स्पिड डेडिङ सेसनमा भाग लिनुपर्ने हुन्छ। उक्त सेसनबाट छनोट भएका उत्कृट पाँच पब्लिक भोटिङको लागि छनोट हुनेछन्। पब्लिक भोटिङसँगै स्टार्टअप कम्पनीहरू फिल्ड भिजिट पनि सञ्चालन गरिने आयोजक समितिका संयोजक राजन लम्सालले जानकारी दिए।
तेस्रो चरणको लागि छनोट भएका उत्कृष्ट स्टार्टअप, प्रडक्ट, राइजिङ स्टुडेन्ट प्रोजेक्ट र इनोभेसनहरूले आउँदो शनिबार, सोमबार र बुधबार आयोजना हुने प्रिजेन्टेशन तथा स्पिड डेटिङ सेसनमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ। त्यसपश्चात् छनोट भएका उत्कृष्ट पाँचलाई अनलाइन तथा एसएमएस भोटिङ सञ्चालन गरिनेछ। आइसिटी अवार्डमा अन्य सात विधाहरुको पनि छनोट प्रक्रिया जारी रहेको जुरी संयोजक हेमपाल श्रेष्ठले जानकारी दिए। अन्य विधाहरूमा पायोनियर, आन्टरप्रेनर, नेपाली डायस्पोरा, वमन आइकन र मिडिया पर्सन आइसिटी अवार्ड रहेका छन्।
त्यसैगरी डिजिटल गभर्नेन्स आइसिटी अवार्ड र डिजिटल एजुकेशन आइसिटी आइसिटी अवार्ड २०२० को पनि छनोट प्रक्रिया जारी छ। विभिन्न सरकारी तथा निजी क्षेत्रका संस्थाको सहयोगमा ‘लिभिङ विथ आइसिटीले आइसिटी अवार्ड २०२०’ आयोजना गरेको हो।