कामदारमा कोरोना देखिएपछि खुलेको एक दिनमै तातोपानी नाका बन्द-Sutra News

कामदारमा कोरोना देखिएपछि खुलेको एक दिनमै तातोपानी नाका बन्द

मंगलबार, २० असोज २०७७

मंगलबार, २० असोज २०७७

सिन्धुपाल्चोक- सात कामदारमा कोरोना देखिएपछि सोमबारदेखि खुलेको नाका आजदेखि पुनः बन्द भएको छ। बाढी तथा पहिराको कारण करिब तीन महिना बन्द भएको तातोपानी नाका खुलेको एक दिनमै पुनःबन्द भएको हो।



भन्सार सामग्री लोड अनलोड गर्ने मजदूरमा कोभिड-१९ सङ्क्रमण पुष्टि भएपछि चीनले नाका बन्द गरेको हो। चीनतर्फ सामग्री लोड अनलोड गर्न गएका ३३ मजदुरको स्वास्थ्य परीक्षण गर्दै स्वाव सङ्कलन गरिएकामा सात जनामा सङ्क्रमण देखिएपछि चीनले एकतर्फीरुपमा बन्द गरेको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए।

नेपालमा परीक्षण गर्दा ती मजदुरको कोरोना रिपोर्ट नेगेटिभ आए पनि चीनतर्फ परीक्षण गर्दा पोजेटिभ देखिएकाले अर्को सोमबारसम्मका लागि आयातनिर्यात बन्द गरिएको हो। सबै चालक र मजदुरको पाँचपाँच दिनमा परीक्षण गर्ने क्रममा कोरोना भाइरस देखिएका चार जनालाई सदरमुकाम चौतारास्थित आइसोलशनमा राखेर उपचार गरिँदैछ। ती चार जनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ नसकिँदै पुनः तीन जनामा कोरोना पोजिटिभ देखिएपछि सीमा नाका बन्द गरिएको हो।

यही असोज १३ गते नेपाल-चीन अधिकारीबीच मितेरीपुलमा भएको बैठकमा कोरोना भाइरस नियन्त्रण गर्ने शर्तमा नाका खुलाउने सहमति भएको थियो। खासा र न्यालममा अड्किएका डेढ सय कन्टेनर सामान दसैंअघि काठमाडौं पुर्‍याउने योजनानुसार दुवै देशको सहमतिमा नाका खुलेको थियो। आइतबार बेलुकीदेखि सोमबार विहानसम्म चीनको खासाबाट १२ कन्टेनरबाट लत्ताकपडा, तयारी कपडासहित केही तयारी सामग्री तातोपानी भित्रिएको थियो।

यसैबीच अत्यधिक रक्तश्राव भएपछि एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ। भोटेकोशी गाँउपालिका-१ बगाम निवासी ३८ वर्षीया दालामु शेर्पाको गाउँपालिकाले आज आफ्नै खर्चमा उद्धार गरेको हो।

सोमबार सुत्केरी हुनुभएकी शेर्पाको रक्तश्राव नरोकिएकाले तत्काल उद्धार गर्नुपर्ने देखिएपछि उनको गाउँपालिकाको पहलमा उद्धार गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए।

शेर्पाले सोमबार चौँरी गोठमा शिशु जन्माएकी थिइन्। शिशु जन्मेपछि पनि रक्तश्राव नरोकिएपछि स्थानीयवासीले स्वास्थ्यकर्मीलाई खबर गरेका थिए। सुत्केरीको आज अपराह्न २ बजे उद्धार गरी थापाथली अस्पताल पठाइएको अध्यक्ष पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट